लन्डन, एएफपी । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले दुई वर्षभन्दा कम कार्यकालपछि सोमबार राजीनामाको घोषणा गरेका छन् ।
नीतिगत यू–टर्न तथा बढ्दो अलोकप्रियताबीच उनले लेबर पार्टीको नेताबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
लन्डनस्थित ‘टेन डाउनिङ स्ट्रिट’ बाहिर सम्बोधन गर्दै स्टार्मरले आफूले लिएका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरिएको बताए ।
“मैले लिएका हरेक निर्णय मैले माया गरेको देशलाई पहिलो स्थानमा राख्ने उद्देश्यका साथ गरिएको हो । त्यसैले म लेबर पार्टीको नेताको पदबाट राजीनामा दिन्छु”, उनले भावुक हुँदै भने ।
स्टार्मरका अनुसार नयाँ लेबर पार्टी नेता चयन प्रक्रिया आगामी जुलाईमा सुरु हुनेछ । नयाँ नेता छनोट नभएसम्म उनी प्रधानमन्त्रीको जिम्मेवारीमा रहनेछन् ।
नयाँ नेता सेप्टेम्बरभित्र चयन हुने अपेक्षा गरिएको छ । सन् २०२४ मा लेबर पार्टीलाई आमनिर्वाचनमा विजय दिलाउँदै प्रधानमन्त्री बनेका स्टार्मरको कार्यकाल नीतिगत परिवर्तन र घट्दो जनसमर्थनका कारण चुनौतीपूर्ण बनेको थियो ।
प्रतिक्रिया दिनुहोस