चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले पार्टीको अर्थ–राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन्।
मंगलबार प्रस्तुत गरिएको ८ पृष्ठ लामो प्रस्तावमार्फत रास्वपाले आफूलाई ‘सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी’ का रूपमा परिभाषित गरेको छ। प्रस्तावमा वैयक्तिक स्वतन्त्रता, मौलिक हक, विधिको शासन र जवाफदेहीपूर्ण सुशासनलाई पार्टीको मूल आधारका रूपमा उल्लेख गरिएको छ।
प्रस्तावमा पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाभित्र समन्यायिक र समावेशी समाज निर्माण गर्ने लक्ष्य अघि सारिएको छ। साथै आर्थिक समृद्धि र सामाजिक न्यायलाई सँगसँगै अघि बढाउने नीति रास्वपाको प्रमुख वैचारिक दिशाका रूपमा प्रस्तुत गरिएको छ।
वाग्लेले प्रस्तावको प्रारम्भिक भागमा पाँच बुँदामार्फत पार्टीको मूल दृष्टिकोण संक्षेपमा व्याख्या गरेका छन् भने त्यसलाई थप स्पष्ट पार्न १० वटा विस्तृत बुँदा समेटेका छन्।
प्रस्तावको अन्तिम खण्ड ‘युगीन आह्वान’ शीर्षकमा राखिएको छ, जहाँ रास्वपाले नेपाललाई २१औँ शताब्दीको उदार, समुन्नत, समावेशी र आत्मविश्वासी राष्ट्र बनाउने अभियानको नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
महाधिवेशनमा प्रस्तुत उक्त प्रस्तावमाथि प्रतिनिधिहरूबीच छलफल हुने र सुझाव समेटेर अन्तिम रूप दिइने तयारी गरिएको छ ।
हेर्नुहोस बन्द सत्रमा प्रस्तुत गरिएको प्रतिवेदन
प्रतिक्रिया दिनुहोस