२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

मोरङ कारागार अनियमितता प्रकरण

मोरङ कारागारमा लाखौं रुपैयाँ बेपत्ता : विवादित पात्र अभिषेक गिरी पक्राउ

शनिवार , आषाढ १३, २०८३

मोरङ जिल्ला कारागारमा कैदीबन्दीलाई वितरण गरिएको १३ लाख ४० हजार रुपैयाँ बराबरको गर्मी भत्ता रहस्यमय रूपमा गायब भएको घटनामा विवादित छवि भएका अभिषेक गिरी पक्राउ परेका छन्। घटनापछि कारागार प्रशासन, जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनले संयुक्त रूपमा अनुसन्धान तीव्र बनाएका छन्।

कारागार प्रशासनले गत बुधबारदेखि शुक्रबारसम्म १ हजार १ सय ८५ जना कैदीबन्दीलाई प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँका दरले गर्मी भत्ता वितरण गरेको थियो। तर ‘ब’ ब्लकका ५ सय ३६ जना कैदीबन्दीलाई वितरण गरिएको रकम केही घण्टामै गायब भएको सूचना प्राप्त भएपछि मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले तत्काल अनुगमन गर्न निर्देशन दिएका थिए।

अनुगमनका क्रममा अधिकांश कैदीबन्दीको साथमा वितरण गरिएको रकम फेला नपरेपछि घटनाबारे सोधपुछ सुरु गरिएको थियो। अनुसन्धानका क्रममा घटनामा अभिषेक गिरीको संलग्नता रहेको आशंका उत्पन्न भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला कारागार मोरङका जेलर राजन घिमिरेका अनुसार कारागारको ए ब्लकमा ५ सय ३९ जना, बी ब्लकमा ५ सय ३६ जना र महिला ब्लकमा १ सय १० जना गरी कुल १ हजार १ सय ८५ कैदीबन्दीलाई भत्ता वितरण गरिएको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उपस्थितिमा कर्मचारीहरूले कैदीबन्दीको हातहातमै रकम उपलब्ध गराएका थिए।

कारागार स्रोतका अनुसार बी ब्लकका निमित्त चौकीदार चञ्चल बर्मनसँग गरिएको सोधपुछका क्रममा अभिषेक गिरीको नाम खुलेको थियो। त्यसपछि प्रहरीले गिरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको हो।

तर अनुगमनका क्रममा बी ब्लकका धेरै कैदीबन्दीले भत्ता प्राप्त गरेको स्वीकार गरे पनि रकम आफ्नो साथमा देखाउन सकेनन्। कतिपयको साथमा ५ सयदेखि १ हजार रुपैयाँसम्म मात्र फेला परेको थियो। बाँकी रकमबारे सोधपुछ गर्दा उनीहरूले लुगा खरिदका लागि घरपरिवार वा आफन्तलाई पठाइसकेको बताएका थिए।

कारागार स्रोतका अनुसार बी ब्लकका निमित्त चौकीदार चञ्चल बर्मनसँग गरिएको सोधपुछका क्रममा अभिषेक गिरीको नाम खुलेको थियो। त्यसपछि प्रहरीले गिरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको हो।

प्रमुख जिल्ला अधिकारी कटेलले कैदीबन्दीको भत्ता गायब भएको घटनासँगै कारागारभित्र हुने अन्य आर्थिक गतिविधिहरूमा पनि गिरीको संलग्नता रहेको आशंकामा अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दामा नौ वर्ष कैद सजाय भोगिसकेका गिरी दुई वर्षअघि रिहा भएका थिए। पछिल्लो समय उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेको बताइन्छ। कारागारमा रहँदा उनले चौकीदारको भूमिकामा कैदीबन्दीमाथि आर्थिक शोषण गरेको आरोप समेत खेप्दै आएका थिए।

यसैबीच, कैदीबन्दीहरूले उत्पादन गर्ने मुढा बिक्रीबाट प्राप्त आम्दानी हिनामिना भएको विषयमा समेत गिरीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले चौकीदार चञ्चल बर्मनलाई पनि नियन्त्रणमा लिएको थियो। तर कारागारभित्र कैदीबन्दीहरूले विरोध प्रदर्शन गरेपछि उनलाई पुनः कारागारमै फर्काइएको स्रोतले जनाएको छ।

उता, अभिषेक गिरीले भने सरकार परिवर्तनपछि राजनीतिक प्रतिशोधका आधारमा आफूलाई पक्राउ गरिएको दाबी गरेका छन्। उनको पक्राउको विरोधमा कारागारभित्र केही कैदीबन्दीले प्रदर्शन गरिरहेको बताइएको छ।

घटनाबारे थप तथ्य संकलन तथा रकम गायब भएको वास्तविक कारण पत्ता लगाउन प्रहरीको अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट