काठमाडौँ । वर्षौँदेखि उठ्न नसकेको औद्योगिक क्षेत्रको ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँभन्दा बढी भाडा बक्यौता दुई सातामै असुल भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले लामो समयदेखि भाडा नतिरी बसेका उद्योग तथा कार्यालयबाट तत्काल बक्यौता उठाउन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई निर्देशन दिएकी थिइन। सोही निर्देशन कार्यान्वयन भएपछि उल्लेख्य रकम असुल भएको लिमिटेडले जनाएको छ।
वि.सं. २०४५ सालदेखि नै केही उद्योगहरूले भाडा तिर्न बाँकी राखेका थिए। केही दिनअघि करिब ६ सय ३५ उद्योग तथा कार्यालयलाई भाडा तिर्न सार्वजनिक सूचना जारी गरिएको थियो। त्यसपछि अधिकांश उद्योगले धमाधम बक्यौता चुक्ता गर्न थालेका कारण छोटो अवधिमै ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँ संकलन भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीले बताए।
महाप्रबन्धक ओलीका अनुसार तोकिएको समयभित्र पनि भाडा नतिर्ने उद्योगविरुद्ध कडा कदम चालिएको छ। सुरुमा करिब २ सयभन्दा बढी उद्योगको विद्युत् लाइन काटिएको थियो। ती उद्योगहरूले बक्यौता बुझाएपछि लाइन पुनः जडान गरिएको उनले बताए। अझै भाडा नतिरेका ४५ वटा कम्पनीको भने विद्युत् लाइन काटिएको उनले जानकारी दिए।
उनका अनुसार बक्यौता राख्ने उद्योगहरूमध्ये कन्टिनेन्टल कम्पोनेन्ट एन्ड सर्भिसेज प्रालिको करिब ३ करोड ६९ लाख रुपैयाँ तथा सोही सञ्चालकको अर्को कम्पनी कन्टिनेन्टल सर्भिसेज प्रालिको करिब १ करोड रुपैयाँ भाडा उठ्न बाँकी छ। यी दुवै उद्योगको विद्युत् लाइन काट्ने प्रक्रिया पनि अघि बढाइएको उनले बताए।
भाडा तिर्न आनाकानी गर्ने उद्योग र विभिन्न तहबाट आएको दबाबका बाबजुद मन्त्री यादवको स्पष्ट निर्देशनका कारण छोटो समयमै ठूलो परिमाणमा बक्यौता उठाउन सफल भएको महाप्रबन्धक ओलीले बताए।
प्रतिक्रिया दिनुहोस