काठमाडौँ । शंकर ग्रुपसँग आबद्ध १३ कम्पनीको क्रेडिट रेटिङलाई ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन’ (नेगेटिभ वाच) बाट हटाइएको छ।
शंकर ग्रुपका प्रमुख लगानीकर्ता शाहिल अग्रवाल, सुलभ अग्रवाल र शंकरलाल अग्रवाललगायतविरुद्ध बैंकिङ, धितोपत्र, बीमा तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दायर भएपछि क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले गत महिना १८ कम्पनीको रेटिङ ‘नेगेटिभ वाच’मा राखेको थियो।
जगदम्बा स्टिल, रिद्धि सिमेन्ट, लिट्मस इन्डस्ट्रिज, टेली डाइरेक्ट, जगदम्बा मोटर्स, जगदम्बा मोबाइल, जगदम्बा हायर पर्चेज, जगदम्बा अटो ग्रुप, टेलिटक, रामजानकी हाइड्रोपावर, गनपति वनस्पति, जगदम्बा हस्पिटालिटी र हुलास फिनसर्भसहित १३ कम्पनीलाई उक्त निगरानी सूचीबाट हटाइएको हो। यसअघि नेगेटिभ वाचमा परेका १८ कम्पनीमध्ये १५ कम्पनीले करिब १ खर्ब ५ अर्ब रुपैयाँ बराबरको कर्जा सुविधाका लागि रेटिङ गराएका थिए।
इन्फोमेरिक्सका अनुसार कम्पनीहरूको व्यावसायिक सञ्चालन सामान्य रूपमा निरन्तर रहेको, आर्थिक अवस्थामा कुनै उल्लेखनीय नकारात्मक असर नपरेको, बैंक तथा वित्तीय संस्थाप्रतिको ऋण र ब्याज समयमै भुक्तानी भइरहेको तथा व्यवस्थापनले त्यससम्बन्धी आधिकारिक प्रमाण उपलब्ध गराएकाले नेगेटिभ वाच हटाउने निर्णय गरिएको हो।
यद्यपि एजेन्सीले कम्पनीहरूको व्यावसायिक कार्यसम्पादन, वित्तीय अवस्था र ऋण भुक्तानी क्षमतामाथि निरन्तर निगरानी जारी रहने जनाएको छ। भविष्यमा यी सूचक वा कम्पनीको क्रेडिट जोखिम प्रोफाइलमा प्रतिकूल परिवर्तन आए त्यसले आगामी क्रेडिट रेटिङलाई असर गर्न सक्ने इन्फोमेरिक्सले उल्लेख गरेको छ।
शंकर ग्रुप अन्तर्गत दर्जनौं कम्पनीहरू सञ्चालनमा छन् । उद्योग, व्यापार, स्टील, सिमेन्ट, ऊर्जा लगायत विभिन्न क्षेत्रमा फैलिएको यो समूह देशको औद्योगिक विकासमा महत्वपूर्ण योगदान पु–याउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस