२०८३, आषाढ १७ गते

बुधवार, आषाढ १७ गते २०८३

बढ्दो ऋण र चर्को प्रतिस्पर्धाले प्यारामाउन्ट मोटर्स दबाबमा, ब्याज तिर्ने क्षमतामा निरन्तर गिरावट

बुधवार , आषाढ १७, २०८३

काठमाडौं । नेपालमा मोरिस ग्यारेज (एमजी) ब्रान्डका सवारीसाधनको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालि  बढ्दो ऋण, कमजोर नगद प्रवाह र तीव्र प्रतिस्पर्धाका कारण वित्तीय दबाबमा परेको छ।

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार कम्पनीका प्रमुख वित्तीय सूचकहरू लगातार कमजोर बन्दै गएको हाे।

प्रतिवेदनअनुसार बजारमा बढ्दो प्रतिस्पर्धा, उच्च मात्रामा गाडीको स्टक, घट्दो नाफा तथा ऋणमा अत्यधिक निर्भरताले कम्पनीको वित्तीय अवस्था थप चुनौतीपूर्ण बनेको छ ।

कम्पनीको ब्याज भुक्तानी गर्ने क्षमता पछिल्ला वर्षहरूमा तीव्र रूपमा खस्किएको छ। आर्थिक वर्ष २०२२ मा २०.३ गुणा रहेको यो अनुपात आर्थिक वर्ष २०२४ मा १.९ गुणामा झरेको थियो। आर्थिक वर्ष २०२५ मा यो थप घटेर १.७ गुणामा सीमित भएको छ भने चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा १.३ गुणासम्म पुगेको प्रतिवेदनमा उल्लेख छ। सञ्चालन नाफामा आएको कमी र बढ्दो ऋणको भारका कारण यस्तो अवस्था सिर्जना भएको छ।

कम्पनी दैनिक सञ्चालनका लागि बैंक ऋणमा अत्यधिक निर्भर बनेको छ। सन् २०२५ को मध्य जुलाईसम्म कम्पनीले उपलब्ध कुल ऋण सीमाको ९९ प्रतिशतसम्म उपयोग गरिसकेको प्रतिवेदनले देखाएको छ। यसले थप कर्जा उपयोग गर्ने कम्पनीको क्षमता समेत सीमित भएको संकेत गरेको छ।

कुल ऋण र सञ्चालन नाफाको अनुपात पनि निरन्तर बढिरहेको छ। आर्थिक वर्ष २०२४ मा ७.४ गुणा रहेको यो अनुपात चालु आर्थिक वर्षको नौ महिनामा ९.२ गुणासम्म पुगेको छ।

प्रतिस्पर्धी विद्युतीय सवारी ब्रान्डको संख्या बढ्दै जाँदा मूल्य प्रतिस्पर्धाको प्रत्यक्ष असर कम्पनीको नाफामा परेको देखिन्छ। सञ्चालन नाफा मार्जिन आर्थिक वर्ष २०२४ मा ६.८ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०२५ मा घटेर ५.२ प्रतिशतमा सीमित भएको थियो। चालु आर्थिक वर्षको नौ महिनामा यो ६ प्रतिशत पुगे पनि स्टक व्यवस्थापनका लागि गरिएको मूल्य समायोजनका कारण उक्त सुधार दिगो हुनेमा इक्रा नेपालले आशंका व्यक्त गरेको छ।

प्यारामाउन्ट मोटर्सको कुल आम्दानीको करिब ८७ प्रतिशत हिस्सा केवल दुई मोडेल—MG4 EV र MG S5—बाट आउने गरेको छ । ती मोडेलमा प्रतिस्पर्धी ब्रान्डले प्रभावकारी विकल्प ल्याए कम्पनीको व्यापारमा ठूलो असर पर्न सक्ने इक्राले चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट