काठमाडौँ । एसियाली विकास बैङ्क (एडीबी) का अध्यक्ष मासातो कान्डा दुई दिने औपचारिक भ्रमणका क्रममा काठमाडौँ आइपुगेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थसचिव घनश्याम उपाध्यायले स्वागत गरे ।
अध्यक्ष कान्डाको भ्रमण तालिका अनुसार, उनले आज (सोमबार) दिउँसो ३ बजे अर्थमन्त्री डा. स्वर्णीम वाग्लेसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। त्यसलगत्तै उनले नेपालमा एडीबीको लगानीमा सञ्चालित विभिन्न विकास आयोजनाहरूको स्थलगत भ्रमण र अनुगमन गर्ने कार्यक्रम रहेको छ।
भ्रमणको दोस्रो दिन अर्थात् मङ्गलबार अध्यक्ष कान्डाले प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेट गर्नेछन्। प्रधानमन्त्री शाहको कार्यकालमा औपचारिक भेट गर्ने उनी पहिलो उच्चस्तरीय विदेशी पाहुना हुनेछन्। अर्थ मन्त्रालय स्रोतका अनुसार यस भ्रमणका क्रममा नेपालका लागि केही महत्त्वपूर्ण सहयोग सम्झौताहरूमा एडीबीका तर्फबाट हस्ताक्षरसमेत हुने सम्भावना छ।
नेपाल ओर्लिएलगत्तै सामाजिक सञ्जाल 'एक्स' मार्फत सन्देश दिँदै अध्यक्ष कान्डाले नेपालको विकास यात्रामा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरेका छन्। उनले नेपालले विभिन्न चुनौती र परिवर्तनका बीचमा पनि देखाएको 'उत्थानशीलता' को प्रशंसा गरे।
उनले लेखेका छन्, "नेपालले पटक-पटकका धक्का र परिवर्तनका बीचमा पनि गजबको धैर्यता देखाएको छ। नेपालको सबैभन्दा ठूलो विकास साझेदारका रूपमा (३.९ अर्ब डलर सक्रिय लगानीसहित) हामी यो उत्थानशीलतालाई दीर्घकालीन आर्थिक वृद्धि र थप अवसरमा बदल्न सहयोग गर्नेछौँ।"
६ दशक लामो साझेदारीलाई स्मरण गर्दै अध्यक्ष कान्डाले नेपालको नयाँ सरकारले आफ्ना प्राथमिकताहरू तय गरिरहेको बेला यो भ्रमण फलदायी हुने विश्वास व्यक्त गरेका छन्। उनले नेपालको आगामी आर्थिक यात्रामा एडीबीले कसरी प्रभावकारी भूमिका खेल्न सक्छ भन्ने विषयमा सरकारसँग सिक्ने, सुन्ने र छलफल गर्ने अवसरका रूपमा यस भ्रमणलाई लिएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस