काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि २० अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ घ’ जारी गर्ने भएको छ।
केन्द्रीय बैंकका अनुसार उक्त ऋणपत्रका लागि सोमबार दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट बोलकबोल गर्न सकिनेछ। बोलकबोल प्रक्रियाबाट नै ऋणपत्रको ब्याजदर निर्धारण गरिने व्यवस्था गरिएको छ।
यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र आवेदन दिन सक्नेछन्। ऋणपत्रको अवधि एक वर्ष रहनेछ भने यसको साँवा २०८४ असार २२ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। ब्याज भने अर्धवार्षिक रूपमा उपलब्ध गराइनेछ।
राष्ट्र बैंकका अनुसार यस ऋणपत्रमा न्यूनतम पाँच करोड रुपैयाँदेखि पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गरिएको रकमसम्म बोलपत्र पेस गर्न सकिने व्यवस्था गरिएको छ।
केन्द्रीय बैंकले बजारमा रहेको अधिक तरलता नियन्त्रण तथा मौद्रिक व्यवस्थापनलाई प्रभावकारी बनाउन समय–समयमा यस्ता ऋणपत्र जारी गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस