काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवालाई सात दिनभित्र विभागमा उपस्थित हुन सार्वजनिक सुचना जारी गरेको छ । सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) सम्बन्धी कसुरको अनुसन्धानका क्रममा विभागले यो कदम चालेको हो ।
संयुक्त अनुसन्धान टोलीले जारी गरेको सूचनाअनुसार जयवीरमाथि भइरहेको जाँचबुझ र अनुसन्धानका सिलसिलामा केही गम्भीर विषयमा सोधपुछ र बयान लिनुपर्ने भएकाले उपस्थित हुन निर्देशन दिइएको छ । सूचना प्रकाशित भएको मिति (२०८३ असार २२ गते) देखि बाटोको म्यादबाहेक ७ दिनभित्र ललितपुरको हरिहर भवनस्थित विभागको कार्यालयमा उपस्थित हुन भनिएको छ ।
विभागले तोकिएको समयभित्र उपस्थित नभए प्रचलित कानुनबमोजिम पक्राउ पुर्जीसहितका आवश्यक कानुनी प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ । विभागको टोलीले जयवीरको बुढानीलकण्ठस्थित स्थायी निवासमै पुगेर उक्त पुर्जी टाँसेको छ ।
सम्पत्ति शुद्धीकरणको यो अनुसन्धानमा जयवीर मात्र नभई सिंगो देउवा परिवार नै तानिएको छ । यसअघि विभागले जयवीरका बुबा शेरबहादुर देउवा र आमा आरजु राणा देउवालाई समेत बयानका लागि बोलाइसकेको छ ।
उच्च राजनीतिक दबाब र प्रभावका बीच विभागले देउवा परिवारमाथि अनुसन्धान तीव्र बनाएको हो । स्रोतका अनुसार पूर्वप्रधानमन्त्री देउवा र आरजु राणाले भने आगामी साउन मसान्तसम्म विभागमा उपस्थित भएर बयान दिने जानकारी गराइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस