२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

चार वर्ष बित्दा पनि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

बुधवार , आषाढ २४, २०८३

रुपन्देही । सञ्चालनमा आएको चार वर्ष बितिसक्दा पनि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्न सकेको छैन। अर्बौं रुपैयाँको लगानीमा निर्माण भएको अत्याधुनिक पूर्वाधार र सरकारले उपलब्ध गराएको विभिन्न सहुलियतका बाबजुद विमानस्थल अझै नियमित अन्तर्राष्ट्रिय हवाई सेवाको प्रतीक्षामा छ।

विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर साहका अनुसार पछिल्लोपटक थाई एयर एसियाले बैंकक–भैरहवा–बैंकक रुटमा नियमित उडान सञ्चालन गरे पनि 'विन्टर सिड्युल' समाप्त भएसँगै सेवा रोकिएको छ। हाल चार्टर उडानबाहेक कुनै नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनमा छैन।

उनका अनुसार मुख्य समस्या पूर्वाधार नभई यात्रु व्यवस्थापन, बजार संरचना र नीतिगत समन्वयको अभाव हो। विदेशी वायुसेवा कम्पनी भैरहवाबाट उडान गर्न इच्छुक भए पनि काठमाडौं केन्द्रित जनरल सेल्स एजेन्ट (जिएसए), ट्राभल एजेन्सी र बजार व्यवस्थापनका कारण पर्याप्त यात्रु जुट्न नसकेको उनले बताए।

साहले नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको भए विदेशी कम्पनीलाई पनि सकारात्मक सन्देश जाने धारणा व्यक्त गरे। साथै भारतसँगको हवाई सेवा सम्झौता परिमार्जन गरी दिल्ली, मुम्बई, कोलकातालगायत सहरबाट सिधा उडान सञ्चालनका लागि सरकारी पहल आवश्यक रहेको उनको भनाइ छ।

सरकारले ल्यान्डिङ, नेभिगेसन र यात्रु सेवा शुल्कमा शतप्रतिशत छुट तथा ग्राउन्ड ह्यान्डलिङ र इन्धनमा समेत सहुलियत दिए पनि त्यसले मात्रै नियमित उडान सुनिश्चित गर्न नसक्ने उनको निष्कर्ष छ।

निजी क्षेत्रले पनि विमानस्थल सञ्चालनमा ढिलाइ हुनुको मुख्य कारण सरकारको नीतिगत अन्योल, काठमाडौं केन्द्रित हवाई बजार, भारतसँग आवश्यक कूटनीतिक पहलको अभाव र कमजोर समन्वय रहेको जनाएको छ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी बनाउन सरकारले स्पष्ट हवाई नीति ल्याउनुपर्ने बताए। उनले भैरहवा र पोखराका लागि स्थानीय जिएसए नियुक्त गर्ने व्यवस्था, भैरहवामै श्रम डेस्क, मेडिकल सेन्टर र भिसा केन्द्र स्थापना गर्नुपर्ने सुझाव दिए।

नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले पनि नेपाल एयरलाइन्सले भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्नेमा जोड दिँदै यात्रु उडानसँगै कार्गो सेवा विस्तार गर्न सके पश्चिम नेपालको अर्थतन्त्र र पर्यटन क्षेत्रलाई ठूलो लाभ पुग्ने बताए।

करिब ३५ अर्ब रुपैयाँको लागतमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गते उद्घाटन भएको थियो। अत्याधुनिक पूर्वाधार, तीन किलोमिटर रनवे र वाइडबडी विमान सञ्चालनको क्षमता हुँदाहुँदै पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थलको पूर्ण उपयोग हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट