काठमाडौ/ शनिबार बिहान असमको जोरहाटस्थित रौरिया भारतीय वायुसेना बेसमा अवतरण गर्ने क्रममा भारतीय वायुसेनाको एक विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना सह–पाइलट घाइते भएका छन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार नियमित उडानमा रहेको एएन–३२ (ब्ल्–३२) सैन्य विमान अवतरणको प्रयास गर्दै गर्दा दुर्घटनाग्रस्त भएको हो। अवतरणकै क्रममा विमान असन्तुलित भएर जमिनमा खसेपछि दुई टुक्रा भएको र त्यसपछि आगलागी भएको बताइएको छ।
दुर्घटनामा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलमको मृत्यु भएको पुष्टि गरिएको छ। घाइते सह–पाइलटलाई उपचारका लागि अस्पताल लगिएको छ।
भारतीय वायुसेनाले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत शोक व्यक्त गर्दै दुर्घटनामा ज्यान गुमाउने पाँचै कर्मचारीप्रति गहिरो समवेदना प्रकट गरेको छ।
दुर्घटनापछि घटनास्थलमा उद्धार तथा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रारम्भिक जानकारीअनुसार विमान सैन्य सामग्री तथा जनशक्ति ढुवानीका लागि प्रयोग हुँदै आएको थियो र नियमित प्रशिक्षण÷उडानका क्रममा रहेको थियो । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको भारतीय वायुसेनाले जनाएको छ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस