काठमाडौ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको नयाँ सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । अत्यन्त प्रतिस्पर्धात्मक बनेको निर्वाचनमा उनले निवर्तमान सभापति तथा नुवाकोट–२ बाट प्रतिनिधिसभा सदस्य अच्युतम लामिछानेलाई मात्र दुई मतले पराजित गर्दै नेतृत्व हात पारेका हुन् ।
विद्युतीय मतदान प्रणालीमार्फत सम्पन्न निर्वाचनमा अर्यालले ४१६ मत प्राप्त गर्दा लामिछानेले ४१४ मत पाए । रास्वपाको विधानअनुसार सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत मत आवश्यक पर्ने व्यवस्था रहेकोमा अर्यालले आवश्यक मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।

अर्याल यसअघि रास्वपा बागमती प्रदेश समितिको प्रवक्ताको जिम्मेवारीमा थिए । हेटौंडाका उनी पार्टीभित्र संगठन विस्तार र प्रदेशस्तरीय गतिविधिमा सक्रिय नेताका रूपमा चिनिन्छन् ।
बागमती प्रदेश अधिवेशनमा प्रारम्भिक रूपमा चार जनाले सभापतिका लागि आकांक्षा देखाए पनि अन्ततः अर्याल र लामिछानेबीच प्रत्यक्ष प्रतिस्पर्धा भएको थियो। मतगणनाको अन्तिम परिणामसम्म दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको थियो।
निर्वाचन समितिका अनुसार अधिवेशनअन्तर्गत पहिलो चरणमा सभापति तथा सदस्यहरूको चयन गरिएको छ भने बाँकी पदाधिकारीहरूको टुंगो दोस्रो चरणको निर्वाचनबाट लगाइनेछ ।
दुई मतको झिनो अन्तरले आएको परिणामसँगै रास्वपा बागमतीमा नयाँ नेतृत्वको सुरुआत भएको छ । सभापति पदका प्रत्याशी लामिछानेलाई पार्टीको संस्थापक नेताको रुपमा चिनीने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस