काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र भेनेजुयलामा बुधबार साँझ (स्थानीय समय अनुसार ६ः०४ बजे) एकपछि अर्को गरी दुईवटा शक्तिशाली भूकम्प गएका छन् । केही सेकेन्डको अन्तरालमा आएका ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा ठूला धक्काका कारण राजधानी कराकाससहित देशका विभिन्न क्षेत्रमा व्यापक क्षति भएको छ । शताब्दीकै शक्तिशालीमध्येको मानिएको यस भूकम्पमा परी हजारौं नागरिक हताहत भएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पहिलो भूकम्प (७.२ म्याग्निच्युड) गएको ठीक ३९ सेकेन्डपछि दोस्रो तथा अझ शक्तिशाली (७.५ म्याग्निच्युड) मुख्य धक्का महसुस गरिएको थियो । भूकम्पको केन्द्रविन्दु तटीय सहर मोरोन नजिकै जमिनबाट क्रमशः २२ र १० किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पको कडा कम्पन छिमेकी देश कोलम्बियाको राजधानी बोगोटा र उत्तरी ब्राजिलसम्म महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भूकम्पका कारण राजधानी कराकासका अल्तामिरा र चाकाओ क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन् । त्यहाँ कयौं अग्ला आवासीय भवन तथा बैंकका संरचनाहरू भत्किएका छन् । भवनहरू भत्किएर भग्नावशेषमा परिणत भएपछि सयौं मानिसहरू पुरिएको आशंका गरिएको छ ।
ग्यास पाइपलाइन फुट्दा विष्फोट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सरकारले तत्कालका लागि कराकासभरि ग्यास आपूर्ति बन्द गराएको छ । यस्तै साइमन बोलिभर अन्तर्राष्ट्रिय विमानस्थलमा क्षति पुगेपछि सबै आन्तरिक तथा बाह्य उडानहरू रद्द गरिएका छन् ।
भेनेजुयलामा बुधबार ऐतिहासिक सैन्य विजय (सन् १८२१ को स्पेनविरुद्धको युद्ध) को अवसरमा राष्ट्रिय बिदा रहेकाले अधिकांश नागरिकहरू घरमै रहेका बेला भूकम्प गएको हो । भूकम्पपछि घर तथा व्यवसायिक मलहरूबाट भागेका लाखौं नागरिकहरू रातभर खुला सडक र पार्कहरूमा बसिरहेका छन् ।
भेनेजुयलाका गृहमन्त्री डियोस्डाडो काबेलोले देशका धेरै राज्यहरूमा ठूलो क्षति पुगेको पुष्टि गर्दै नागरिकहरूलाई संयमित रहन र परकम्पहरू आउने क्रम जारी रहेकाले घरभित्र नलिन अपिल गरेका छन् ।
भूकम्पको लगत्तै सञ्चार सम्पर्क विच्छेद र ब्ल्याकआउट भएकाले आधिकारिक हताहतीको विवरण प्राप्त हुन सकेको छैन। यद्यपि जोखिम मूल्याङ्कन प्रणालीले यो विपत्तिमा मृत्यु हुनेको संख्या १० हजारदेखि १ लाखसम्म पुग्न सक्ने ४४ प्रतिशत सम्भावना देखाएको छ । प्रभावित क्षेत्रमा सेना र उद्धारकर्मीहरूले भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार कार्य तीव्र पारेका छन् ।
प्रतिक्रिया दिनुहोस