२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

स्वास्थ्य, पूर्वाधार र पर्यटनलाई प्राथमिकता दिँदै सोरु गाउँपालिकाले ल्यायो ५० करोड ६६ लाखको बजेट

बिहिवार , आषाढ ११, २०८३

मुगु । मुगुको सोरु गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ५० करोड ६६ लाख ५८ हजार ३०१ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १८औँ गाउँसभाको अधिवेशनमा उपाध्यक्ष केशर बहादुर शाही ले बजेट प्रस्तुत गर्दै स्वास्थ्य, शिक्षा, कृषि, सडक पूर्वाधार, पर्यटन, वातावरण संरक्षण तथा सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राखिएको बताएका छन् ।

प्रस्तुत बजेटमध्ये ३१ करोड १२ लाख ३० हजार ३०१ रुपैयाँ चालुतर्फ तथा १९ करोड ५४ लाख २८ हजार रुपैयाँ पुँजीगततर्फ विनियोजन गरिएको छ ।

गुणस्तरीय स्वास्थ्य सेवा र रैथाने उपचारमा विशेष जोड

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गाउँपालिकाले गुणस्तरीय स्वास्थ्य सेवा विस्तार र रैथाने उपचार पद्धतिको प्रवर्द्धनलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रत्येक वडाका स्वास्थ्य संस्थामा आवश्यक औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा दक्ष जनशक्तिको व्यवस्था गरी आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गरिने जनाइएको छ ।

नीति तथा कार्यक्रममा आयुर्वेद, योग, ध्यान तथा होमियोप्याथिक उपचार प्रणालीलाई प्रोत्साहन गर्दै आधुनिक औषधिको अनावश्यक प्रयोग न्यूनीकरण गर्ने उल्लेख गरिएको छ । गाउँपालिकाभित्र स्वास्थ्य शिविर सञ्चालन गरी प्राकृतिक तथा वैकल्पिक उपचार विधिबारे जनचेतना अभिवृद्धि गरिने जनाइएको छ ।

तारापानीमा निर्माणाधीन अस्पताल सञ्चालनको अन्तिम चरणमा पुगेकाले आवश्यक व्यवस्थापनका लागि ३३ लाख रुपैयाँ विनियोजन गरिएको छ भने औषधि खरिद तथा स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन ३० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

शिक्षाको गुणस्तर सुधारमा लगानी

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको पठनपाठनलाई प्रभावकारी बनाउने तथा शिक्षक क्षमता विकास कार्यक्रम सञ्चालन गर्न ७० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

कृषि उत्पादन वृद्धि र सिँचाइ विस्तार

कृषि उत्पादन वृद्धि, आधुनिक कृषि प्रविधिको प्रयोग, पशुपालन तथा दुग्ध उत्पादन प्रवर्द्धनका लागि कृषि तथा पशु शाखामार्फत ३५ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ ।

सडक सञ्जाल विस्तारमा करोडौँको लगानी

गाउँपालिकाले दुर्गम बस्तीलाई सडक पहुँचसँग जोड्ने लक्ष्यसहित विभिन्न सडक तथा पुल निर्माण योजनालाई प्राथमिकता दिएको छ ।

कर्णाली करिडोरसँग जोडिएको सिस्नेखर्क बेलिब्रिज–दोमुख पुल निर्माणका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै, तारापानी–रुम हुँदै मुर्माटप–रारा सडक निर्माणका लागि ९१ लाख १५ हजार रुपैयाँ, वुम्च–गोयलपानी–सिरुपाटा सडक निर्माणका लागि ९२ लाख ३० हजार रुपैयाँ तथा सोरु गाउँपालिका वडा नम्बर ९ लाई खत्याड गाउँपालिकासँग सडक सञ्जालमार्फत जोड्न ९२ लाख १५ हजार रुपैयाँ बजेट व्यवस्था गरिएको छ ।

तातोपानी पर्यटन पूर्वाधार विकासमा लगानी

धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास, ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनका लागि संघीय सरकारको समपूरक अनुदानमार्फत तातोपानी पर्यटन पूर्वाधार विकास योजनामा ४६ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

सामाजिक विकास र समावेशीकरणलाई निरन्तरता

महिला सशक्तीकरण, दलित, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकको उत्थान, बालअधिकार संरक्षण र सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेट व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

बजेट प्रस्तुत गर्दै उपाध्यक्ष शाहीले प्रस्तावित कार्यक्रम तथा योजनाको कार्यान्वयनबाट स्थानीय आर्थिक विकास, रोजगारी सिर्जना तथा नागरिकको जीवनस्तरमा सकारात्मक सुधार आउने विश्वास व्यक्त गरे । उपलब्ध स्रोत–साधनको न्यायोचित वितरण र प्रभावकारी परिचालनमार्फत समृद्ध, आत्मनिर्भर तथा नागरिकमैत्री स्थानीय तह निर्माण गर्ने लक्ष्य बजेटले लिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट