२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

रास्वपा महाधिवेशन: महामन्त्रीमा जगदिश खरेलको उम्मेदवारी, शिशिर खनाल पछि हटे

शुक्रवार , आषाढ १२, २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा महामन्त्री पदका लागि चुनावी सरगर्मी निकै चुलिएको छ । दोस्रो चरणको निर्वाचन प्रक्रिया अन्तर्गत नेता जगदिश खरेलले महामन्त्री पदमा आफ्नो औपचारिक उम्मेदवारी दर्ता गराएका छन् ।

खरेलले चितवनस्थित पार्टीको निर्वाचन आयोगको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउँदै उनले पार्टीलाई नयाँ उचाइमा पुर्‍याउन आफ्नो दाबेदारी रहेको उल्लेख गरेका छन् ।

खनाल ब्याक, कार्कीको विधि र पद्धतिको नारा

यसअघि महामन्त्री पदका बलिया आकांक्षी एवं वर्तमान परराष्ट्रमन्त्री शिशिर खनाल भने एकाएक चुनावी प्रतिस्पर्धाबाट पछि हटेका छन् । पार्टीभित्र सहमतिको वातावरण निर्माण गर्न, एकताको सन्देश दिन र संस्थागत सुदृढीकरणलाई जोड दिनका लागि आफूले उम्मेदवारी फिर्ता लिएको खनालले स्पष्ट पारेका छन् ।

अर्कातर्फ, रास्वपाका युवा नेता गणेश कार्कीले पनि महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् । कार्कीले पार्टीभित्र विधि, पद्धति र वैचारिक स्पष्टताको आवश्यकता औंल्याउँदै त्यसकै लागि आफ्नो उम्मेदवारी रहेको घोषणा गरेका छन् ।

चुनावी मैदानमा स्थापित युवा अनुहार, भिडन्त रोचक

रास्वपाको विधानअनुसार एक मात्र निर्वाचित महामन्त्री पद रहने व्यवस्था भएकाले यो पदको प्रतिस्पर्धा निकै रोचक र भिडन्तपूर्ण हुने देखिएको छ। मैदानमा खरेल र कार्कीबाहेक पार्टीका अन्य स्थापित र प्रभावशाली नेताहरू पनि उत्रिएका छन्।

महामन्त्री पदका मुख्य प्रतिस्पर्धीहरू 

१. जगदिश खरेल

२. गणेश कार्की

३. मनिष झा

४. कबिन्द्र बुर्लाकोटी

५. विपिन आचार्य

६. रञ्जु दर्शना

७. सागर ढकाल

८. प्रमोद न्यौपाने 

लामो समयदेखि पार्टीमा सक्रिय रहेका तथा सामाजिक रूपमा स्थापित युवा अनुहारहरू एकैपटक एउटै पदका लागि चुनावी मैदानमा उत्रिएपछि रास्वपाको पहिलो महाधिवेशनबाट कस्तो नेतृत्व आउला भन्ने विषयलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। निर्वाचन समितिले मनोनयनको अन्तिम सूची प्रकाशन गरेसँगै मतदानको प्रक्रिया अघि बढ्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट