२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

बैंकिङ कर्जामाथिको निर्भरता घटाउँदै वर्ल्डलिंक, वित्तीय अवस्था मजवुत

शुक्रवार , आषाढ १२, २०८३

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले वित्तीय अवस्था, बजार हिस्सा र वैदेशिक लगानीका सूचकमा उल्लेखनीय सुधार गरेको छ । केयर रेटिङ्स नेपालले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार कम्पनीको ऋण तिर्ने क्षमता, आम्दानी, नगद प्रवाह र पुँजीगत संरचना सुदृढ बन्दै गएको छ ।

रेटिङ अनुसार कम्पनीको ऋण भुक्तानी क्षमता उच्च र वित्तीय जोखिम न्यून देखाएको छ ।  कम्पनीले बैंक कर्जामाथिको निर्भरता पनि घटाएको छ । कुल बैंकिङ सुविधा (कर्जा सीमा) ३ अर्ब ९४ करोड रुपैयाँबाट घटाएर २ अर्ब ७६ करोड रुपैयाँ मा झारेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार सन् २०२६ अप्रिल १३ सम्म देशभरका करिब ३४ लाख ८० हजार इन्टरनेट ग्राहकहरूमध्ये १० लाख ८० हजार ग्राहक वर्ल्डलिंकसँग आबद्ध छन् । यसले कम्पनीले नेपालको फिक्स्ड इन्टरनेट बजारमा करिब ३१ प्रतिशत हिस्सा ओगटेको देखाउँछ । प्रतिस्पर्धा बढ्दै गए पनि कम्पनीले नयाँ ग्राहक थप्नुका साथै पुराना ग्राहकलाई कायम राख्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।

वर्ल्डलिंकको पुँजीगत संरचना थप बलियो बनाउन सन् २०२६ फेब्रुअरीमा फिनिस फन्डबाट १ अर्ब ३९ करोड ५० लाख रुपैयाँ बराबरको नयाँ इक्विटी लगानी भित्राएको छ । यसअघि कम्पनीले ब्रिटिश इन्टरनेसनल इन्भेस्टमेन्टबाट १ अर्ब ८ करोड रुपैयाँ तथा डोल्मा इम्प्याक्ट फन्ड बाट ९० करोड रुपैयाँ लगानी आकर्षित गरिसकेको थियो ।

 नयाँ लगानीसँगै कम्पनीमा कुल प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ३७ करोड ५० लाख रुपैयाँ पुगेको छ, जुन मुख्यतः नेटवर्क पूर्वाधार विस्तारमा प्रयोग भइरहेको रेटिङ कम्पनीको प्रतिवेदनमा उल्लेख छ।

वर्ल्डलिंकले आफ्नो नेटवर्कलाई नयाँ प्रविधिमा अपग्रेड गरेको छ । साथै, देशभर आधुनिक डाटा सेन्टर निर्माणका लागि छुट्टै विशेष उद्देश्यीय कम्पनी एसपीभी स्थापना गरी पूर्वाधार विस्तारलाई तीव्रता दिएको छ ।

प्रति ग्राहक आम्दानीमा केही दबाब र बजारमा तीव्र प्रतिस्पर्धा रहे पनि वल्र्डलिंकले बलियो ग्राहक आधार, बढ्दो वैदेशिक लगानी, सुधारिएको बैंक रेटिङ र स्थिर नगद प्रवाहका आधारमा नेपालको इन्टरनेट बजारमा आफ्नो नेतृत्व अझ मजबुत बनाएको रेटिङबाट देखिएको छ ।  

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ७६ करोड १० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब १ करोड १० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ७५ करोड रुपैयाँको रेटिङ गराएको छ ।

आम्दानी १२ अर्ब नाघ्यो

आर्थिक वर्ष २०८१/८२ मा वर्ल्डलिंकको सञ्चालन आम्दानी ९.०१ प्रतिशत ले बढेर १२ अर्ब १३ करोड रुपैयाँ पुगेको थियो । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामै कम्पनीले ९ अर्ब ५५ करोड रुपैयाँ आम्दानी गर्दै करिब १० प्रतिशत वार्षिक वृद्धि कायम राखेको छ ।

सकारात्मक वित्तीय सूचकहरूबीच कम्पनीले केही चुनौती पनि सामना गरिरहेको छ । इन्टरनेट सेवा प्रदायकहरूबीच बढ्दो मूल्य प्रतिस्पर्धा  र ग्रामीण क्षेत्रमा विस्तारका कारण प्रति ग्राहक औसत मासिक आम्दानी ९२७ रुपैयाँबाट घटेर ८४९ रुपैयाँमा झरेको छ ।

यद्यपि चालु आर्थिक वर्षको पहिलो छ महिनामा यो ८५९ रुपैयाँ पुगेकाले सुधारको संकेत देखिएको छ । दूरसञ्चार क्षेत्रको उच्च पूँजीगत लगानीको आवश्यकता र नेपाल विद्युत् प्राधिकरणसँगको पोल भाडा विवादलाई पनि कम्पनीका सम्भावित जोखिमका रूपमा हेरिएको छ ।

इन्टरनेटका उपकरणहरू विदेशबाट डलरमा आयात गर्नुपर्ने भएकाले विनिमय दरमा हुने उतारचढावले कम्पनीलाई ठूलो प्रभाव पारेको छ। रिपोर्टले औंल्याएअनुसार, आर्थिक वर्ष २०२५ मा मात्रै कम्पनीले ११ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा विनिमय नोक्सानी व्यहोरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट