चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनले रास्वपालाई संस्थागत तथा राजनीतिक रूपमा थप बलियो बनाएको बताएका छन्। उनले महाधिवेशनबाट प्राप्त अनुभवलाई आत्मसात् गर्दै पार्टी अब थप परिपक्व, व्यवस्थित र जिम्मेवार राजनीतिक शक्तिका रूपमा अघि बढ्ने बताएका हुन्।
चितवनमा सम्पन्न शपथग्रहण समारोहलाई सम्बोधन गर्दै लामिछानेले रास्वपाले छोटो अवधिमा उल्लेखनीय राजनीतिक यात्रा तय गरे पनि विगत चार वर्षमा भएका कमजोरी र त्रुटिबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए।
उनले नयाँ राजनीतिक शक्तिका रूपमा उदाउँदा विभिन्न चुनौती र कमजोरी देखिनु स्वाभाविक भएको उल्लेख गर्दै त्यसबाट पार्टीले धेरै सिकेको बताए। महाधिवेशनका क्रममा देखिएका व्यवस्थापकीय तथा संगठनात्मक कमी कमजोरीहरूलाई स्वीकार गर्दै उनले प्रतिनिधि, नेता तथा कार्यकर्तासँग क्षमा समेत मागे।
‘हामी फरक पृष्ठभूमिबाट आएका छौं, त्यसैले फरक–फरक प्रकृतिका चुनौतीहरूको सामना गर्न तयार हुनुपर्छ। महाधिवेशनले हामीलाई धेरै सिकाएको छ, अब त्यसलाई व्यवहारमा उतार्ने समय आएको छ, ’
‘हामीले चार वर्षको यात्रामा धेरै उपलब्धिसँगै केही कमजोरी पनि देख्यौं। ती कमजोरीलाई सुधार्दै पार्टीलाई अझ सुदृढ बनाउने जिम्मेवारी अब हाम्रो काँधमा आएको छ,’ उनले भने।
लामिछानेले प्रथम राष्ट्रिय महाधिवेशनले रास्वपालाई राजनीतिक दलका रूपमा थप वैधानिक र संस्थागत आधार प्रदान गरेको दाबी गरे। फरक–फरक पेशा, अनुभव र पृष्ठभूमिबाट राजनीतिमा आएका व्यक्तिहरूको साझा प्रयासबाट बनेको पार्टीले आगामी दिनमा अझ जटिल चुनौतीहरूको सामना गर्नुपर्ने उनको भनाइ थियो।
उनले नेता तथा कार्यकर्तालाई पार्टीभित्रको प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिन आग्रह गर्दै निर्वाचनपछि सबै एकताबद्ध भएर साझा लक्ष्यतर्फ केन्द्रित हुनुपर्ने बताए। जित र हारलाई क्षणिक विषयका रूपमा ग्रहण गर्नुपर्ने उल्लेख गर्दै उनले संगठनलाई बलियो बनाउन सबैको योगदान आवश्यक रहेको धारणा राखे।
सभापति लामिछानेले महाधिवेशन सफल बनाउन भूमिका निर्वाह गर्ने प्रतिनिधि, स्वयंसेवक, नेता–कार्यकर्ता तथा सहयोगी सबैप्रति आभार व्यक्त गरे। उनले प्राप्त अनुभव र सुझावका आधारमा पार्टीलाई जनउत्तरदायी, अनुशासित र प्रभावकारी राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
‘हामी फरक पृष्ठभूमिबाट आएका छौं, त्यसैले फरक–फरक प्रकृतिका चुनौतीहरूको सामना गर्न तयार हुनुपर्छ। महाधिवेशनले हामीलाई धेरै सिकाएको छ, अब त्यसलाई व्यवहारमा उतार्ने समय आएको छ, ’उनले भने।
प्रतिक्रिया दिनुहोस