२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

शनिवार , आषाढ १३, २०८३

ललितपुर / काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु  एच(फाइभ एनवान सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ । पशुसेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि भइसकेको छ भने रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ ।

 

विसं २०८२ चैत ४ गते मोरङमा पहिलोपटक बर्डफ्लु पुष्टि भएपछि झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकसम्म सङ्क्रमण फैलिएको हो ।

 

पशुसेवा विभागका महानिर्देशक डा उमेश दाहालका अनुसार सङ्क्रमण नियन्त्रणका क्रममा हालसम्म पाँच लाख ६९ हजार ८५८ वटा पक्षी नष्ट गरिएको छ । त्यस्तै नौ लाख ८९ हजार ३१३ वटा अण्डा र एक हजार ९५४ दशमलव ८५ क्विन्टल दाना पनि नष्ट गरिएको उहाँले जानकारी दिनुभयो ।

 

रोग नियन्त्रणका लागि पशुसेवा विभागले उपमहानिर्देशकको नेतृत्वमा ‘बर्डफ्लु रोग नियन्त्रण कक्ष’ स्थापना गरी सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालनसमेत गरेको छ । 

 

विभागका अनुसार हालसम्म कोशी प्रदेशका झापा, मोरङ र सुनसरीसँगै बारा, महोत्तरी, चितवन र नवलपरासीमा सङ्क्रमण नियन्त्रणमा आइसकेको छ । तर काठमाडौँ, ललितपुर, भक्तपुर तथा काभ्रेपलाञ्चोकका केही क्षेत्रमा सङ्क्रमण अझै देखिइरहेकाले विशेष निगरानी बढाइएको महानिर्देशक डा दाहालले जानकारी दिनुभयो ।

 

सङ्क्रमित भाइरसमा कुनै आनुवंशिक परिवर्तन  भएको छ वा छैन भन्ने यकीन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा भाइरसको जिन अनुक्रमण प्रक्रिया पनि सुरु गरिएको विभागले जनाएको छ ।

 

विभागले पन्छीपालक किसानलाई फार्ममा जैविक सुरक्षा बायोसेक्युरिटी  का मापदण्ड कडाइका साथ पालना गर्न, पुराना अण्डाका क्रेट पुनःप्रयोग नगर्न, ढुवानीका साधन पूर्ण रूपमा निसङ्क्रमण गरेर मात्र फार्मभित्र प्रवेश गराउन तथा जङ्गली पन्छीसँग घरपालुवा पन्छीको सम्पर्क हुन नदिन आग्रह गरेको छ ।

 

यसैगरी, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन, नियमित खोप लगाउन तथा कुनै फार्ममा अस्वाभाविक रूपमा धेरै पन्छी बिरामी वा मरेको देखिए तत्काल नजिकको पशुसेवा कार्यालयमा जानकारी गराउन विभागले अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट