२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

गुल्मीका किसानलाई गाई स्याहार भत्ता

शनिवार , आषाढ १३, २०८३

गुल्मी/ पहिलागाउँघरका प्रत्येक गोठमा देखिने स्थानीय जातका गाई अहिले लोप हुँदै गएका छन् । किसानले व्यावसायिक रूपमा दूध बढी दिने उन्नत जातका गाईपालन गर्न थालेपछि स्थानीय जातका गाई पाल्ने चलन घट्दै गएको हो । 

स्थानीय जातका गाईपालनमा किसानलाई आकर्षित गराउने उद्देश्यले यहाँको मदाने गाउँपालिका–१ अग्लुङ्मा स्थानीय लहिनो जातका गाई संरक्षणका लागि किसानलाई प्रतिगाई वार्षिक रु दुई हजार स्याहार भत्ता वितरण गर्न सुरु गरिएको छ । 

गाउँघरबाट विस्तारै हराउँदै गएको स्थानीय गाई जोगाउँदै पुनःगाईपालनतर्फ आकर्षित गर्र्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष सुशील चन्दले बताए । स्थानीय गाई लोप हुँदै गएपछि यसको प्रत्यक्ष असर धार्मिक संस्कारदेखि कृषि क्षेत्रसम्म पर्दै आएको उनको भनाइ छ ।

पहिला गाउँघरमा मृत्यु संस्कारमा पुरोहितलाई लहिनो गाई दान गर्ने परम्परा थियो । तर अहिले भने पुरोहितले गाई लैजान छाडेसँगै गाईको सट्टामा नगद दिने चलन बढेको वडाध्यक्ष चन्दले जानकारी दिनुभयो । धार्मिक कर्मका लागि आवश्यक पर्ने गाईको गोबर र गोमूत्रसमेत खोज्नुपर्ने अवस्था आएको भन्दै उहाँले गाईपालन व्यवसाय घट्दै जाँदा धार्मिक संस्कार, संस्कृति र परम्परामा प्रत्यक्ष असर पर्दै जान थालेको बताए ।

‘पहिला हरेक घरमा गाई पाल्ने प्रचलन थियो, अहिले दिनभरि गाउँमा घुम्दै जाँदा गोठहरू खाली देखिन्छन् । अहिले गाउँघरमा स्थानीय जातका गाई भेटाउन मुस्किल छ, गोबर र गौमूत्र खोज्न टाढा जानुपर्ने बाध्यता छ । वडाले दिएको यो स्याहार भत्ताले गाई जोगाउनका लागि थोरै भए पनि हौसला मिलेको छ’, स्थानीय नरबहादुर विष्टले भने । स्थानीय गाई केवल दूधका लागि मात्र नभई गाउँको संस्कृति, धार्मिक आस्था र कृषि प्रणालीसँग जोडिएको जानकारहरू बताउँछन् । अहिले स्थानीयतहले गाई संरक्षण कार्यक्रम अघि बढाउँदा किसान पनि उत्साहित बनेका छन् । 

वडाध्यक्ष चन्दले स्थानीय गाई संरक्षण गर्नुपर्ने पाका पुस्ताको मागअनुसार यस्तो कार्यक्रम सुरु गरिएको बताए । ‘गाई हाम्रो मौलिक सम्पत्ति हो, यसको संरक्षणका लागि किसानलाई प्रोत्साहन गर्न स्याहार भत्ता वितरण सुरु गरेका हौँ, आउँदा वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिने हो’, उनले भने ।  

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट