२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

६० प्रतिशतभन्दा बढी बजार हिस्सा रहेको अर्बिट ग्रुप ब्रिटिस काउन्सिलको ‘प्लाटिनम पार्टनर अवार्ड’बाट सम्मानित

शनिवार , आषाढ १३, २०८३

काठमाडौँ - नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएको भन्दै अर्बिट ग्रुपलाई ब्रिटिस काउन्सिलले  ‘प्लाटिनम पार्टनर अवार्ड’ प्रदान गरेको छ। व्यावसायिक साझेदार संस्थामध्ये सबैभन्दा उत्कृष्ट कार्यसम्पादन गरेको मूल्याङ्कनका आधारमा काउन्सिलले अर्बिट ग्रुपलाई यो प्रतिष्ठित सम्मान प्रदान गरेको जनाएको छ।

बिहीबार काठमाडौंमा आयोजित विशेष समारोहमा अर्बिट ग्रुपका प्रबन्ध निर्देशक सुनिल रेग्मीलाई उक्त अवार्ड प्रदान गरिएको हो। नेपालका लागि बेलायती राजदूतावासका सामाजिक विकास प्रमुख एन्ड्रियू लङले रेग्मीलाई अवार्ड हस्तान्तरण गर्दै अन्तर्राष्ट्रिय शिक्षामा नेपाली विद्यार्थीलाई सक्षम बनाउने अर्बिट ग्रुपको भूमिकाको प्रशंसा गरेका थिए।

नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका लागि अनिवार्य मानिने आइएलटीएस तयारी सेवामा अर्बिट ग्रुपले उल्लेखनीय सफलता हासिल गरेको छ। कम्पनीका अनुसार आइएलटीएस तयारी बजारमा अर्बिटको हिस्सा ६० प्रतिशतभन्दा बढी रहेको छ, जसले यस क्षेत्रको अग्रणी संस्थाका रूपमा अर्बिटलाई स्थापित गरेको छ।

अवार्ड ग्रहणपछि प्रबन्ध निर्देशक रेग्मीले ब्रिटिस काउन्सिलबाट प्राप्त सम्मानले संस्थाको योगदानको अन्तर्राष्ट्रिय स्तरमा मूल्याङ्कन भएको महसुस गराएको बताए। उनले भने, ‘वैदेशिक शिक्षाका लागि अत्यावश्यक आइएलटीएस तयारी क्षेत्रमा हामीले पुर्‍याएको योगदानको कदर गर्दै ब्रिटिस काउन्सिलले यो प्रतिष्ठित सम्मान प्रदान गरेको छ। यो सम्मानले हामीलाई थप जिम्मेवार, प्रतिबद्ध र गुणस्तरीय सेवा प्रदान गर्न प्रेरित गरेको छ। आगामी दिनमा पनि नेपाली विद्यार्थीलाई विश्वस्तरीय तयारी सेवा उपलब्ध गराउँदै अन्तर्राष्ट्रिय अवसरसम्म पहुँच विस्तार गर्न हामी निरन्तर लागिपर्नेछौँ।’

उक्त समारोहमा ब्रिटिस काउन्सिलले विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने अन्य साझेदार संस्थाहरूलाई पनि सम्मान गरेको थियो। ‘टप एसोसिएसन अवार्ड’ नेपाल शैक्षिक परामर्श संघ (इक्यान)लाई प्रदान गरिएको छ। त्यसैगरी ‘गोल्ड अवार्ड’ केआईइसी लर्निङ सेन्टरले प्राप्त गरेको छ भने ‘सिल्भर अवार्ड’ द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीलाई प्रदान गरिएको छ।

यस्तै, ‘ब्रोन्ज अवार्ड’ पाँच संस्थाले प्राप्त गरेका छन्। सम्मानित हुने संस्थाहरूमा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज, एइसीसी स्टडी अब्रोड कन्सल्टेन्सी, एओपी ग्लोबल कन्सल्टेन्सी, आइएलटीएस सेन्टर र ब्रिज इन्टरनेशनल रहेका छन्।

कार्यक्रममा बोल्दै ब्रिटिस काउन्सिल नेपालकी कन्ट्री एक्जाम डाइरेक्टर प्रतिष्ठा थापा रायमाझीले अन्तर्राष्ट्रिय शिक्षाको अवसरसम्म नेपाली युवाको पहुँच विस्तार गर्न साझेदार संस्थाहरूले खेलेको भूमिका प्रशंसनीय रहेको बताइन्। उनले विद्यार्थीलाई गुणस्तरीय परामर्श, सही मार्गदर्शन र विश्वसनीय सेवा प्रदान गर्ने संस्थाहरूलाई सम्मान गर्न पाउँदा काउन्सिल गौरवान्वित भएको उल्लेख गरिन्।

त्यस्तै, ब्रिटिस काउन्सिल नेपालका हेड अफ बिजनेस डेभलपमेन्ट सुदर्शन सुवेदीले नेपाली विद्यार्थी तथा पेशाकर्मीलाई अन्तर्राष्ट्रिय शिक्षा, सीप र करियरका अवसरसँग जोड्न शैक्षिक परामर्शदाताहरूले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए। उनले यस्ता साझेदार संस्थासँगको सहकार्यलाई आगामी दिनमा अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे।

ब्रिटिस काउन्सिलले हरेक वर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने व्यावसायिक साझेदार संस्थाहरूलाई सम्मान गर्दै आएको छ।  

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट