काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्रमा पहिलोपटक प्रिपेड मोबाइल सेवाग्राहीका लागि मासिक प्याकेज स्वतः नवीकरण (अटो–रिन्यु) हुने व्यवस्था सुरु भएको छ। सरकारी स्वामित्वको नेपाल टेलिकमले ‘सब्स्क्रिप्सन–बेस्ड मोडल’ अन्तर्गत प्रिपेड ग्राहकका लागि नयाँ ‘नमस्ते रिकरिङ’ प्याकेज सार्वजनिक गर्दै यस्तो सुविधा उपलब्ध गराएको हो।
हालसम्म प्रिपेड प्रयोगकर्ताले प्रत्येक महिना वा प्याकेज सकिएपछि पुनः कोड डायल वा एपमार्फत नयाँ प्याकेज खरिद गर्नुपर्ने बाध्यता थियो। अब भने ग्राहकले एकपटक मात्रै सेवा सक्रिय गरेपछि मोबाइलमा पर्याप्त ब्यालेन्स रहेसम्म हरेक महिना प्याकेज स्वतः नवीकरण हुनेछ। यससँगै प्रिपेड प्रयोगकर्ताले पोस्टपेड सेवाजस्तै सहज अनुभव पाउने छन ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारको १०० दिने कार्यसूचीअन्तर्गत ‘डेलिभरी–बेस्ड गभर्नेन्स’ कार्यक्रममार्फत यो सेवा सुरु गरिएको जानकारी दिए।उनका अनुसार अब सेवाग्राहीले प्रत्येक महिना पुनः प्याकेज सक्रिय गरिरहनुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्, जसले डिजिटल सेवामा पहुँच थप सहज बनाउनेछ।
नयाँ सब्स्क्रिप्सन प्रणालीले प्रिपेड मोबाइल सेवालाई थप सहज, नियमित र आधुनिक बनाउने अपेक्षा गरिएको छ। साथै, ग्राहकको सुविधा बढाउनुका साथै दूरसञ्चार उद्योगको आम्दानी सुदृढ पार्ने र आगामी फाइभजी विस्तारका लागि आवश्यक लगानी जुटाउन समेत यो व्यवस्था महत्त्वपूर्ण बन्न सक्नेछ।
घट्दो आम्दानीबीच नयाँ व्यवसायिक रणनीति
नेपालका दूरसञ्चार सेवा प्रदायकहरूको आम्दानी पछिल्ला वर्षहरूमा घट्दो क्रममा छ। नेपाल टेलिकमले पनि सञ्चालन तथा आम्दानीमा चुनौती सामना गरिरहेको अवस्थामा ल्याइएको सब्स्क्रिप्सन मोडललाई कम्पनीको नियमित आम्दानी बढाउने र दीर्घकालीन वित्तीय स्थायित्वमा सहयोग गर्ने रणनीतिका रूपमा हेरिएको छ।
दूरसञ्चार क्षेत्रका जानकारहरूका अनुसार यस्ता मासिक सब्स्क्रिप्सन प्याकेजले ग्राहकलाई दीर्घकालीन रूपमा सेवा प्रयोगमा बाँध्ने भएकाले कम्पनीहरूको नगद प्रवाह बलियो बन्न सक्छ। यसले भविष्यमा फाइभजीजस्ता नयाँ प्रविधिमा लगानी गर्न समेत सहज हुने अपेक्षा गरिएको छ।
निजी क्षेत्रको सेवा प्रदायक एनसेलले पनि सब्स्क्रिप्सनमा आधारित साप्ताहिक तथा मासिक प्याकेजलाई भविष्यको व्यवसायिक मोडलका रूपमा अघि बढाउँदै आएको छ। कम्पनीको आकलन अनुसार यस्तो मोडल प्रभावकारी रूपमा कार्यान्वयन भए मोबाइल उद्योगको वार्षिक आम्दानी ४० प्रतिशतसम्म बढ्न सक्छ।
यस्तै, ग्राहकको प्रयोग प्रवृत्तिअनुसार भविष्यमा १ वा ३ दिनका साना प्याकेज क्रमशः घटाउँदै साप्ताहिक र मासिक योजनालाई प्राथमिकता दिने रणनीति पनि कम्पनीले बनाएको छ।
तीनवटा ‘नमस्ते रिकरिङ’ प्याक
नेपाल टेलिकमले ३० दिन अवधिका तीनवटा प्याकेज सार्वजनिक गरेको छ।
◼ नमस्ते रिकरिङ २९९ (रु. २९९)
सबै नेटवर्कमा ३०० मिनेट कल
४ जीबी अल–टाइम डेटा
२ जीबी नाइट डेटा
२० अन–नेट एसएमएस
◼ नमस्ते रिकरिङ ४९९ (रु. ४९९)
सबै नेटवर्कमा ५०० मिनेट कल
८ जीबी अल–टाइम डेटा
४ जीबी नाइट डेटा
१०० अल–नेट एसएमएस
◼ नमस्ते रिकरिङ ७९९ (रु. ७९९)
सबै नेटवर्कमा असीमित कल
दैनिक १० जीबीका दरले ३० दिनसम्म कुल ३०० जीबी डेटा
३०० अल–नेट एसएमएस
आवश्यक परे थप डेटा पनि
मासिक प्याकेज प्रयोगकर्ताका लागि थप डेटा आवश्यक परे एड–अन प्याकेजको सुविधा पनि उपलब्ध गराइएको छ।
रु. ३० मा १ जीबी (१ दिन)
रु. ५० मा २ जीबी (३ दिन)
रु. ९९ मा ४ जीबी (७ दिन)
कसरी सक्रिय गर्ने?
नेपाल टेलिकमका प्रिपेड ग्राहकले आफ्नो मोबाइलबाट *1415# डायल गरी स्क्रिनमा देखाइने निर्देशन पालना गरेर ‘नमस्ते रिकरिङ’ सेवा सक्रिय गर्न सक्नेछन्।
प्रतिक्रिया दिनुहोस