काठमाडौं । बीवाईडी विद्युतीय सवारीसाधनको भन्सार जाँचपास प्रकरणमा विवादमा तानिएका भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीमाथि सरकारले कारबाही गरेको छ। अर्थ मन्त्रालयले उनलाई विभागबाट फिर्ता बोलाउँदै मन्त्रालयमा तानेको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय निर्णय गर्दै भण्डारीलाई भन्सार विभागबाट फिर्ता बोलाएका हुन्। उनको स्थानमा विभागका उपमहानिर्देशक भरतमणि पाण्डेलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको छ।
बीवाईडी प्रकरणमा बजेटअघि रसुवागढी नाकाबाट सवारीसाधनको भन्सार जाँचपास भएको विषयमा मन्त्रालय र मातहतका निकायलाई गलत सूचना दिएर गुमराहमा राखेको आरोप भण्डारीमाथि लागेको छ। सोही विषयलाई लिएर मन्त्रालयले नेतृत्व परिवर्तनको निर्णय गरेको स्रोतले जनाएको छ।
भण्डारीलाई तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले गत वर्ष साउनमा भन्सार विभागको महानिर्देशक नियुक्त गरेका थिए। त्यसअघि उनी अर्थ मन्त्रालयको योजना महाशाखा प्रमुखका रूपमा कार्यरत थिए।
बीवाईडी प्रकरण सार्वजनिक भएपछि अर्थ मन्त्रालयले घटनाबारे छानबिन अघि बढाएको छ। त्यसकै बीच महानिर्देशकलाई विभागबाट हटाएर मन्त्रालय तानिएको कदमलाई सरकारले प्रशासनिक कडाइ सुरु गरेको संकेतका रूपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस