काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आज (असार १६ गते) देखि ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ नामक ऋणपत्रको सार्वजनिक निष्काशन तथा बिक्री खुला गरेको छ।
बैंकले १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ६.२५ प्रतिशत ब्याजदर उपलब्ध गराउने जनाएको छ। प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका कुल ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागिएको हो, जसको कुल आकार ३ अर्ब रुपैयाँ बराबर रहेको छ।
जारी गरिने कुल ऋणपत्रमध्ये १८ लाख कित्ता अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ। बाँकी १२ लाख कित्ता अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र भने सर्वसाधारणका लागि छुट्याइएको बैंकले जनाएको छ।
सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोष (म्युचुअल फन्ड)का लागि सुरक्षित गरिएको छ।
यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि आवेदन दिन सक्नेछन् भने अधिकतममा जारी भएका सम्पूर्ण कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस