काठमाडौं । सरकारले नेपालमा सञ्चालनमा रहेका विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त सबै कलेजका लागि नयाँ मापदण्ड तोकेको छ ।
आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा मन्त्रालयले प्रस्ताव गरेको विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजका लागि नयाँ मापदण्ड स्वीकृत भएको हो ।
सरकारले ‘विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३’ लाई स्वीकृत गरेसँगै अब विदेशी विश्वविद्यालयबाट सम्बन्धत प्राप्त गरेका कलेजले नयाँ मापदण्ड पालना गर्नुपर्ने भएको छ ।
मापदण्डमा आठ वटा नयाँ विषयवस्तु राखिएका छन् भने तोकिएको समयमा मापदण्ड पूरा नगर्ने कलेजको सम्बन्धन वा सञ्चालन अनुमति नै खारेज गर्ने शिक्षा मन्त्रालयले जनाएको छ ।
नयाँ मापदण्डमा सम्बन्धन दिने विदेशी विश्वविद्यालय ‘क्यूएस वर्ल्ड युनिभर्सिटी र्यांकिङ’ वा ‘टाइम्स हायर एजुकेसन वर्ल्ड युनिभर्सिटी र्यांकिङ’ का शीर्ष हजारभित्र परेको हुनुपर्नेछ ।
त्यस्तै कलेजले विश्वविद्यालय अनुदान आयोग (युजिसी) नेपालबाट अनिवार्य रूपमा क्वालिटी अस्यरेन्स एन्ड एक्रेडिटेसन (क्युएए) प्राप्त गरेको हुनुपर्नेछ ।
साथै सम्बन्धित विदेशी विश्वविद्यालय रहेको देशको मान्यता प्राप्त गुणस्तर सुनिश्चितता निकायबाट क्युएए वा सो सरहको मान्यता प्राप्त गरेको हुनुपर्नेछ ।
प्रत्येक सेक्सनमा छात्रवृत्तिसहित अधिकतम ३५ जना विद्यार्थी मात्र भर्ना गर्न पाइने गरी प्रस्ताव अघि सारिएको छ । एक शैक्षिक वर्षमा दुईभन्दा बढी इन्टेक सञ्चालन गर्न नपाइने मापदण्ड तोकिएको छ ।
शिक्षा मन्त्रालयले जारी गरेको नयाँ मापदण्डअनुसार विदेशी लगानी भएका कलेजले कुल विद्यार्थीमध्ये २० प्रतिशत र स्वदेशी लगानी भएका कलेजले १० प्रतिशतलाई सरकारको मापदण्डअनुसार पूर्ण छात्रवृत्ति दिनुपर्ने भएको छ ।
स्नातकोत्तर तह सञ्चालन गर्ने कलेजमा कम्तीमा तीन जना पिएचडी उपाधि प्राप्त पूर्णकालीन प्राध्यापक अनिवार्य रहनेछन् । साथै, कुनै पनि कलेजले आठभन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालन गर्न वा नयाँ भर्ना लिन पाउने छैन ।
यस्तै, एक कलेजले एकभन्दा बढी विदेशी विश्वविद्यालयको सम्बन्धन लिन नपाउने व्यवस्था गरिएको छ । हाल एकभन्दा बढी सम्बन्धन लिएका कलेजले तोकिएको अवधिभित्र एउटा मात्र सम्बन्धन कायम राख्नुपर्नेछ, अन्य सम्बन्धन स्वतः खारेज हुने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस