काठमाडौं । नेकपा एमालेले संविधान संशोधनसम्बन्धी बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधि फिर्ता बोलाएको छ। महासचिव शंकर पोखरेलले शुक्रबार जारी गरेको पत्रमार्फत सरकारले गठन गरेको उक्त कार्यदलको कामकारबाहीप्रति गम्भीर असन्तुष्टि जनाउँदै पार्टीका तर्फबाट सहभागी प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोलाइएको जानकारी दिएका हुन्।
पत्रअनुसार मन्त्रिपरिषद्को निर्णयबमोजिम गठन गरिएको कार्यदलमा एमालेका तर्फबाट डा. भीम अधिकारी प्रारम्भिक दिनमा सहभागी भएका थिए। तर कार्यदलको सुरुदेखिकै गतिविधि सन्देहास्पद रहेको, संविधान संशोधनका विषय स्पष्ट नगरिएको तथा वर्तमान संविधानका आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण समेत प्रस्ट नभएको एमालेको निष्कर्ष छ।
एमालेले संशोधनका लागि छलफलमा ल्याइएका केही विषय संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म र भावना विपरीत देखिएको भन्दै यसबारे सरकारको स्पष्ट धारणा माग गरेको जनाएको छ। तर आफ्नो प्रस्तावअनुसार सरकारबाट कुनै स्पष्ट जवाफ नआएकाले कार्यदलमा निरन्तर सहभागी रहनुको औचित्य नरहेको निष्कर्षमा पार्टी पुगेको पत्रमा उल्लेख छ।
एमालेले वर्तमान संविधानका आधारभूत विशेषतालाई अझ सुदृढ बनाउँदै कार्यान्वयनमा देखिएका कमजोरी सुधार गर्ने पक्षमा आफू सधैं रहेको स्पष्ट गरेको छ। तर संविधानका मूलभूत संरचनालाई कमजोर बनाउने वा अन्य उद्देश्यका लागि संशोधन प्रक्रिया अघि बढाउन खोजिएको देखिएकाले कार्यदलबाट अलग हुने निर्णय गरिएको जनाएको छ।
यससँगै एमालेले संविधान संशोधन बहसपत्र तयारी कार्यदलमा रहेका आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोलाएको जानकारी सम्बन्धित संयोजकलाई गराएको छ।
प्रतिक्रिया दिनुहोस