काठमाडौँ । देशमा औपचारिक रूपमा लोडसेडिङ अन्त्य भएको घोषणा गरिए पनि पछिल्लो समय विभिन्न स्थानमा दिनहुँजसो विद्युत् अवरुद्ध हुने विषय प्रतिनिधिसभामा समेत उठेको छ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै नेकपा एमाले की सांसद गंगालक्ष्मी श्रेष्ठले विद्युत् आपूर्तिमा भइरहेको अवरोधप्रति सरकारको ध्यानाकर्षण गराउँदै व्यंग्यात्मक शैलीमा प्रश्न उठाइन्।
उनले भनिन्, ‘पहिला हितेन्द्रदेव शाक्य केपी ओलीको सालो भएकैले बत्ती झ्याप–झ्याप जान्थ्यो भनिन्थ्यो,अहिले उहाँलाई हटाइसक्दा पनि बत्ती किन झ्याप–झ्याप गइरहेको छ? सरकारले यसको जवाफ दिनुपर्छ ।’
सांसद श्रेष्ठले वर्तमान सरकारले राष्ट्रिय हितका विषयमा कमजोर भूमिका खेलेको आरोप पनि लगाइन्। उनले सरकार भारतप्रति अत्यधिक झुकेको टिप्पणी गर्दै विगतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वाभिमानका विषयमा अडान लिएको दाबी गरिन्।
उनका अनुसार, ‘केपी ओलीले भारतसँग आँखामा आँखा जुधाएर कुरा गर्नुभयो, अहिलेको सरकारले त्यस्तो अडान लिन सकेको छैन, बरु हामीले पनि तपाईंहरूको भूमि मिचेका छौँ, फिर्ता गर्छौं भन्ने शैली देखिएको छ ।’
श्रेष्ठले सहकारी ठगी प्रकरणमा सरकार प्रभावकारी रूपमा अघि बढ्न नसकेको आरोप पनि लगाइन्। सहकारी बचतकर्ताको रकम हिनामिना गर्ने मुख्य आरोपीहरू अझै कानुनी दायरामा नआएको उल्लेख गर्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाइन्।
विद्युत् आपूर्तिमा देखिएको अवरोधदेखि राष्ट्रिय हित र सहकारी ठगीसम्मका विषय उठाउँदै सांसद श्रेष्ठले सरकार जनताका आधारभूत समस्याप्रति गम्भीर बन्नुपर्नेमा जोड दिइन् ।
प्रतिक्रिया दिनुहोस