काठमाडौं । राहदानी समयमै नपाउँदा त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक युवाले आत्मदाह प्रयास गरेको घटनाले प्रतिनिधि सभामा समेत प्रवेश पाएको छ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा नेकपाका सचेतक युवराज दुलालले सरकारले नागरिकलाई समयमै राहदानी उपलब्ध गराउन नसकेको भन्दै कडा आलोचना गरे। उनले सरकारले घरदैलोमै राहदानीलगायत सरकारी सेवा–सुविधा पु¥याउने दाबी गरे पनि व्यवहारमा नागरिकले सास्ती खेप्नुपरेको बताए।
संसदमा बोल्दै दुलालले प्रश्न गरे, ‘सरकारले भनेजस्तै घरदैलोमै राहदानी पुग्ने हो भने कति जनाले आत्मदाह गरेपछि राहदानी पाइन्छ?’
उनले राहदानी विभागको त्रिपुरेश्वर कार्यालय अगाडि लामो समयसम्म राहदानी नपाएपछि एक युवाले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गर्नुपरेको उल्लेख गर्दै यस्तो अवस्था सिर्जना हुनु सरकारको गम्भीर असफलता भएको बताए।
दुलालले सरकारप्रति प्रश्न गर्दै भने, ‘यस्तो अवस्थामा म सरकार खोज्न कहाँ जाऊँ?’ उनले नागरिकलाई आधारभूत सरकारी सेवा सहज र समयमै उपलब्ध गराउन सरकारलाई आग्रह गरे।
यसअघि बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेट अगाडि एक पुरुषले शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेका थिए। घटनास्थलमा खटिएको प्रहरीले तत्काल नियन्त्रणमा लिएर उनलाई उपचारका लागि अस्पताल पठाएको थियो।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार ती व्यक्तिको पहिचान र आत्मदाह प्रयास गर्नुको कारण खुल्न बाँकी छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस