काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले आफ्नो निर्वाचन क्षेत्रका नागरिकले बिग्रेका सडकको अवस्था देखाउँदै आफूलाई दैनिकजसो फोटो र भिडियो पठाउने गरेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले जनताले ‘ध्रुवे देखिस् त?’ भन्दै सडकको दुरावस्थाका तस्बिर र भिडियो सामाजिक सञ्जाल तथा मोबाइलमार्फत पठाएर गुनासो गर्ने गरेको बताए।
उनले सडकको अवस्था अत्यन्तै नाजुक भएकाले अहिले आफ्नै निर्वाचन क्षेत्रमा जानसमेत कठिन भएको उल्लेख गरे। ‘जनताले ‘ध्रुवे देखिस् त?’ भन्दै बिग्रेका सडकका फोटो र भिडियो पठाइरहेका हुन्छन्,सडकको अवस्था देख्दा मन नै अत्तालिन्छ,’ उनले भने ।
सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई भोजपुरको सिरीचुङदेखि हसनपुरसम्मको सडकमा स्वयं सवारी चलाएर हेर्न चुनौतीसमेत दिए । ‘प्रधानमन्त्रीज्यू मेरो निर्वाचन क्षेत्रमा गएर स्पिडमा गाडी चलाएर देखाइदिनुहोस्, त्यो सडकमा गाडी कति गतिमा चलाउन सकिन्छ, म पनि हेर्न चाहन्छु,’ उनले संसदमा भने ।
उनले आफ्नै निर्वाचन क्षेत्रको सडकमा गाडी फसेपछि ‘अब म अगाडि बढ्न सक्दिनँ’ भन्दै सामाजिक सञ्जालमा आफू ट्रोलसमेत भएको अनुभव सुनाए।
सांसद राईले विकासका योजनामा भौगोलिक विकटतालाई आधार बनाएर बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए। सबै जिल्लालाई एउटै मापदण्डमा बजेट बाँड्दा दुर्गम क्षेत्र सधैं पछाडि पर्ने उनको भनाइ थियो।
‘काठमाडौंलाई पनि उस्तै बजेट, सबैभन्दा ठूलो र विकट जिल्ला डोल्पालाई पनि उस्तै बजेट दिने हो भने विकास कसरी हुन्छ ?’ भन्दै उनले सरकारले भूगोल, पहुँच र आवश्यकतालाई केन्द्रमा राखेर विकास योजना अघि बढाउनुपर्ने धारणा राखे।
प्रतिक्रिया दिनुहोस