काठमाडौ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्ला तथा विदेशस्थित संगठनहरूलाई थप समय दिने निर्णय गरेको छ। शनिबार बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले भौगोलिक विकटता र प्राविधिक समस्यालाई ध्यानमा राख्दै म्याद थप्ने निर्णय गरेको हो।
निर्णयअनुसार इन्टरनेट पहुँच कमजोर रहेका उच्च हिमाली तथा दुर्गम पहाडी क्षेत्रका केही जिल्ला, साथै बारा र खोटाङका सदस्यहरूलाई क्रियाशील सदस्यता अद्यावधिक गर्न २०८३ असार ७ गतेसम्मको समय दिइएको छ। विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूका लागि भने यो अवधि असार १० गतेसम्म कायम गरिएको छ ।
कांग्रेसका अनुसार हालसम्म देशभर रहेका ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये ६ लाख ८७ हजार ९३१ जनाको विवरण डिजिटल प्रणालीमा अद्यावधिक भइसकेको छ। तीमध्ये ५ लाख ३८ हजार ६२२ जनाले एनसीआईडी प्राप्त गरिसकेका छन् भने १ लाख ४९ हजार ३०९ जनाको विवरण स्थानीय तहमार्फत प्रमाणीकरण प्रक्रियामा रहेको छ।
समितिले अनलाइन प्रणालीमा प्रविष्ट नभएका सदस्यता फारामहरू असार ५ गतेभित्र अनुमोदन गरिसक्न सम्बन्धित वडा समितिलाई निर्देशन दिएको छ। साथै सदस्यता शुल्क नबुझाएका सदस्यहरूलाई तोकिएको शुल्क बुझाउन आग्रह गर्दै अन्यथा आगामी १५औँ महाधिवेशनसँग सम्बन्धित प्रक्रियामा सहभागी हुन नपाउने चेतावनी पनि दिएको छ।
यसैबीच, वडा तहबाट अद्यावधिक प्रक्रियामा छुटेका सदस्यहरूलाई आवश्यक प्रमाणसहित असार २० गतेभित्र केन्द्रीय कार्यालयमा निवेदन दिन आह्वान गरिएको छ। वडा समितिहरूलाई पनि आफ्नो क्षेत्रमा छुटेका सदस्यहरूको संख्या विवरणसहित केन्द्रीय कार्यालयमा इमेलमार्फत जानकारी गराउन भनिएको छ। आवश्यकताअनुसार थप समय उपलब्ध गराउन सकिने समितिले जनाएको छ।
प्रतिक्रिया दिनुहोस