काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएपछि केन्द्रीय सदस्य उम्मेदवार आशिष गजुरेलले महाधिवेशन व्यवस्थापनका क्रममा देखिएका कमजोरीबाट पाठ सिकेर आगामी दिनमा सुधार गरिने बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गजुरेलले महाधिवेशनमा सहभागी भई मतदान गर्ने सम्पूर्ण प्रतिनिधिलाई धन्यवाद व्यक्त गरेका छन्।
उनले पहिलो महाधिवेशन भएकाले व्यवस्थापकीय रूपमा सुधार गर्नुपर्ने धेरै पक्ष स्पष्ट भएको उल्लेख गर्दै सिक्दै र सुधार गर्दै अघि बढ्नु नै संगठनको विशेषता भएको बताएका छन्।
“कमजोरी हुनु गलत होइन, तर कमजोरीबाट सिकेर सुधार नगर्नु भने गलत हो,” गजुरेलले भनेका छन्।
उनले दिनरात खटिएर महाधिवेशन व्यवस्थापनमा जुटेका सम्पूर्ण स्वयंसेवक तथा कार्यकर्ताप्रति आभार व्यक्त गर्दै प्रतिनिधिहरूले भोग्नुपरेको असहजता सबैको साझा कमजोरी भएको स्वीकार गरेका छन्।
गजुरेलले आगामी दिनमा यस्ता कमजोरीहरू सुधार गर्दै पार्टीलाई अझ व्यवस्थित र प्रभावकारी बनाइने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस