काठमाडौं । नेपाली कांग्रेसले मुलुकको विद्यमान राजनीतिक अवस्था र संविधान संशोधनको राष्ट्रिय बहसका विषयमा आज आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ । पार्टीका सभापति गगनकुमार थापाले ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ शीर्षकको दस्तावेज आज दिउँसो ३ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय (सानेपा) मा आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक गर्ने तय भएको छ ।
संविधान संशोधनसम्बन्धी अध्ययन तथा कांग्रेसको आधिकारिक साझा दृष्टिकोण तयार गर्न पार्टीले उपसभापति पुष्पा भुसालको संयोजकत्वमा कानुनविद् तथा संविधानविद्हरूको एक उच्चस्तरीय विज्ञ समिति गठन गरेको थियो ।
उक्त समितिमा वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सीताराम केसी, ललितकुमार बस्नेत तथा अधिवक्ताहरू रनबहादुर थेवे, शर्मिला श्रेष्ठ र झलमाया विक सदस्य रहेका छन् भने सदस्य सचिवको जिम्मेवारी अधिवक्ता राजु कटुवालले निभाएका छन् । सोही विज्ञ समितिले लामो समय लगाएर तयार पारेको विस्तृत सुझावका आधारमा कांग्रेसले आफ्नो नीतिगत दस्तावेज सार्वजनिक गर्न लागेको हो ।
संविधान संशोधनको विषयलाई लिएर प्रमुख राजनीतिक दलहरूबीच तीव्र मतभिन्नता र ध्रुवीकरण कायम रहेका बेला संसद्को ठुलो दल कांग्रेसको यो धारणा आउन लाग्नुलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।
यसअघि संविधान संशोधन बहस र प्रक्रियालाई सहमतिबाटै अघि बढाउने भन्दै गठित ‘संविधान संशोधन बहसपत्र कार्यदल’ बाट नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, जसपा, लोसपा र राष्ट्रिय जनमोर्चा (राजमो) बाहिरिएका थिए ।
प्रतिक्रिया दिनुहोस