२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

अघोषित लोडसेडिङले उद्योग संकटमा, तत्काल विद्युत आपूर्ति सुधार गर्न मोरङ उद्योग व्यापार संघको माग

बिहिवार , आषाढ २५, २०८३

विराटनगर । मोरङ उद्योग व्यापार संघले मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा भइरहेको अघोषित लोडसेडिङ, पटक–पटकको विद्युत ट्रिपिङ तथा अनियमित विद्युत आपूर्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

संघले बिहिबार विज्ञप्ति जारी गर्दै यस्तो अवस्थाले उद्योग सञ्चालन नै संकटमा परेको भन्दै नेपाल विद्युत प्राधिकरणसँग तत्काल समस्या समाधान गर्न माग गरेको हो ।

संघका अध्यक्ष अनुपम राठीद्वारा जारी विज्ञप्तिमा लामो समयदेखि औद्योगिक क्षेत्रले अनिर्धारित र अनियमित विद्युत आपूर्तिको समस्या भोग्दै आएको उल्लेख गरिएको छ । वर्षायाममा समेत विद्युत आपूर्ति नियमित हुन नसकेको भन्दै उद्योगी व्यवसायीहरू दैनिक घण्टौंसम्म अनिश्चितताको सामना गर्न बाध्य भएको संघको भनाइ छ ।

विज्ञप्तिअनुसार कुनै पूर्वसूचना बिना दैनिक रूपमा हुने विद्युत ट्रिपिङ, न्यून भोल्टेज र अघोषित लोडसेडिङका कारण उद्योगहरूमा जडान गरिएका करोडौं रुपैयाँ मूल्यका अत्याधुनिक मेसिन, इलेक्ट्रोनिक प्यानल, पार्टपुर्जा तथा सफ्टवेयर प्रणालीमा क्षति पुगिरहेको छ। यसले उद्योगीहरूलाई मर्मतसम्भारमा ठूलो आर्थिक भार थपिएको संघले जनाएको छ ।

विशेषगरी प्लास्टिक, स्टील, सिमेन्ट, खाद्य तथा रासायनिक पदार्थ उत्पादन गर्ने उद्योगमा उत्पादन प्रक्रियाकै बीचमा विद्युत कटौती हुँदा मेसिनभित्र रहेका कच्चापदार्थ नष्ट हुने, डढ्ने तथा करोडौं रुपैयाँ बराबरको उत्पादन खेर जाने गरेको संघले उल्लेख गरेको छ ।

संघका अनुसार विद्युत आपूर्ति अवरुद्ध हुँदा उद्योगहरूमा कार्यरत हजारौं श्रमिक घण्टौंसम्म कामविहीन बस्नुपर्ने अवस्था सिर्जना भएको छ । उत्पादन बन्द भए पनि श्रमिकको पारिश्रमिक, सञ्चालन खर्च तथा अन्य स्थायी खर्च भने निरन्तर व्यहोर्नुपर्ने भएकाले उद्योगहरूको लागत बढ्दै गएको छ ।

विज्ञप्तिमा अनियमित विद्युत आपूर्तिका कारण समयमै उत्पादन हुन नसक्दा बजारमा वस्तुको अभाव सिर्जना हुने, मागअनुसार आपूर्ति गर्न नसक्दा उद्योगहरूको विश्वसनीयता घट्ने तथा आयातित वस्तुले बजार कब्जा गर्ने जोखिम बढ्दै गएको उल्लेख गरिएको छ । यसले स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता समेत कमजोर बन्दै गएको संघको निष्कर्ष छ।

संघले देशको अर्थतन्त्रको मेरुदण्ड मानिने औद्योगिक क्षेत्रलाई पूर्वसूचना बिना अन्धकारमा राख्नु र उद्योगीहरूको समस्याप्रति सम्बन्धित निकाय उदासीन हुनु अत्यन्तै विडम्बनापूर्ण भएको जनाएको छ ।

मोरङ उद्योग व्यापार संघले नेपाल विद्युत प्राधिकरण तथा सम्बन्धित निकायसँग मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा भइरहेको अघोषित लोडसेडिङ, ट्रिपिङ र न्यून भोल्टेजको समस्या तत्काल अन्त्य गर्न जोडदार माग गरेको छ । साथै, प्राविधिक कारणले विद्युत आपूर्ति अवरुद्ध गर्नुपर्ने अवस्था आएमा त्यसको पूर्वसूचना संघ तथा सम्बन्धित उद्योग प्रतिष्ठानहरूलाई अनिवार्य रूपमा उपलब्ध गराउन पनि आग्रह गरेको छ ।

संघले स्वदेशी उद्योगको संरक्षण, उत्पादन वृद्धि र औद्योगिक वातावरणलाई सहज बनाउन विद्युत आपूर्ति प्रणालीलाई भरपर्दो, नियमित र व्यवस्थित बनाउन सम्बन्धित निकायले गम्भीरतापूर्वक पहल गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट