काठमाडौं । जलनका गम्भीर बिरामी मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई तत्काल उपचारका लागि भारत नलैजाने निर्णय गरिएको छ। स्वास्थ्य अवस्था अस्थिर बनेपछि चिकित्सकहरूको सुझावअनुसार सरकारले भारत लैजाने तयारी स्थगित गरेको हो।
प्रारम्भिक रूपमा चिकित्सकहरूले भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारका लागि लैजान सिफारिस गरेपछि सरकारले सम्पूर्ण तयारी पूरा गरेको थियो। उहाँलाई हवाई उद्धार (एयर एम्बुलेन्स) मार्फत भारत पठाउने व्यवस्था मिलाइएको थियो भने दिल्ली विमानस्थलदेखि एम्स अस्पतालसम्मको सबै बन्दोबस्तसमेत गरिएको थियो। सरकारले उपचारको सम्पूर्ण खर्च सरकारी कोषबाटै व्यहोर्ने निर्णय पनि गरेको थियो।
उहाँलाई समयमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याउन गृहमन्त्री सुदन गुरुङ स्वयं सक्रिय हुनुभएको थियो। सडक मार्ग सहज बनाउन नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई रातभर परिचालन गरिएको थियो।
तर, वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरमा उपचाररत नेपालीको स्वास्थ्य अवस्था थप जटिल र अस्थिर बनेपछि तत्काल स्थानान्तरण गर्दा ज्यानकै जोखिम बढ्न सक्ने निष्कर्ष चिकित्सकहरूले निकालेका छन्। त्यसपछि सरकारले उहाँलाई तत्काल भारत नलैजाने निर्णय गरेको हो।
चिकित्सकहरूले स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र भारत पठाउन उपयुक्त हुने सुझाव दिएका छन्। यही कारण गृहमन्त्री गुरुङ तथा प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका सदस्यहरू बिहीबार रातिदेखि नै वीर अस्पतालमा तयारी अवस्थामा खटिएका छन्।
बिहीबार दिउँसो करिब ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका गणेश नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ।
हाल वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेषज्ञ टोली उहाँको उपचारमा खटिएको छ।
उक्त टोलीले रक्तचाप नियन्त्रणमा राख्दै स्वास्थ्य अवस्था स्थिर बनाउन आवश्यक औषधि र सघन उपचार निरन्तर जारी राखेको अस्पतालले जनाएको छ।
प्रतिक्रिया दिनुहोस