काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल बाल संगठन (बाल मन्दिर) मा भएको भनिएको ठगी प्रकरणमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
सीआईबीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बाल संगठन र बाल मन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन, २०७७ तथा प्रहरी प्रतिवेदनका आधारमा दर्ता भएको ठगी मुद्दाको अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको जनाएको हो।
प्रहरीका अनुसार नेपाल बाल संगठन र बाल मन्दिरबाट अनियमित रूपमा रकम लिई ठगी गरेको आरोपमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर तीन जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो। अदालतबाट थप अनुसन्धानका लागि म्यादसमेत लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको सीआईबीले जनाएको छ।
पक्राउ पर्नेमा नेपाल बाल संगठन, केन्द्रीय कार्यालय बाल मन्दिर, नक्सालका तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख, काठमाडौं महानगरपालिका–११ निवासी ५८ वर्षीया आशा श्रेष्ठ रहेका छन्।
यस्तै, नेपाल बाल संगठन जिल्ला कार्य समिति ललितपुरका तत्कालीन सभापति, ललितपुर महानगरपालिका–५ निवासी ६२ वर्षीय ओमकृष्ण कर्माचार्य र नेपाल बाल संगठन जिल्ला कार्य समिति काठमाडौंका तत्कालीन सचिव, गोकर्णेश्वर नगरपालिका–१ निवासी ५१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ पनि पक्राउ परेका छन्।
सीआईबीका अनुसार उनीहरूमाथि ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस