काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई कुनै पनि प्रकारको ट्राफिक जरिवाना नगरिएको स्पष्ट पारेको छ ।
ट्राफिक प्रहरीको जरिवाना र तनावका कारण उनले आत्मदाह प्रयास गरेको भन्ने समाचारहरू सार्वजनिक भएपछि कार्यालयले तत्काल छानबिन सुरु गरेको थियो । छानबिनका क्रममा उक्त दाबीहरू पूर्ण रूपमा तथ्यहीन रहेको पाइएको कार्यालयले जनाएको हो ।
कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार विस्तृत अनुसन्धान गर्दा गणेश नेपालीलाई कुनै पनि प्रकारको ट्राफिक जरिवाना गरिएको रेकर्ड भेटिएको छैन । यस घटनासँग ट्राफिक प्रहरीको कुनै पनि किसिमको सम्बन्ध नरहेको अनुसन्धानबाट पुष्टि भएको छ ।
ूअनुसन्धानको वस्तुनिष्ठ निष्कर्ष नआउँदै घटनालाई लिएर भ्रमपूर्ण र कपोलकल्पित समाचार सम्प्रेषण नगर्न हामी सञ्चारमाध्यम तथा सम्बन्धित सबै पक्षलाई विशेष आग्रह गर्दछौँ, एसपी सुवेदीले बताए ।
गणेश नेपालीले बिहीबार दिउँसो काठमाडौँको त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ र हाल वीर अस्पतालको बर्न आइसियु वार्डमा विशेष चिकित्सक टोलीको निगरानीमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस