काठमाडौं । गृहमन्त्री सुधन गुरुङ ले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका तथा उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको घटनामा स्थानीय सरकारको भूमिका रहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले नेपालमा संघ, प्रदेश र स्थानीय गरी तीन तहको सरकार रहेको उल्लेख गर्दै उक्त घटना स्थानीय सरकारसँग सम्बन्धित विषय भएको बताए।
उनले संसदमा भने, ‘सरकार कसरी सञ्चालन हुन्छ भन्ने कुरा माननीयज्यूहरूले पनि बुझ्नुपर्छ, देशमा तीन तहका सरकार छन्। यो घटना स्थानीय सरकारसँग सम्बन्धित हो ।’
गृहमन्त्री गुरुङले त्यसक्रममा प्रदेश र स्थानीय सरकारको नेतृत्वतर्फ संकेत गर्दै प्रश्न गरे, ‘प्रदेश सरकार कसको छ? काठमाडौंको स्थानीय सरकार कसको छ? के स्थानीय र प्रदेश सरकार रास्वपाको हो?’
घटनाबारे स्पष्ट पार्दै उनले राहदानी विभाग अगाडि ट्राफिक प्रहरीले नभई काठमाडौं महानगरपालिकाका नगर प्रहरीले मोटरसाइकलमा ह्वील लक लगाएपछि विवाद सुरु भएको बताए । त्यसपछि घटना दुखद मोडमा पुगेको उल्लेख गर्दै सरकारले नागरिकको ज्यान बचाउन अन्तिमसम्म प्रयास गरे पनि सफल हुन नसकेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस