२०८३, आषाढ २६ गते

शुक्रवार, आषाढ २६ गते २०८३

जनताको ज्यान बचाउन दौडिनु स्टन्ट हो भने, म त्यस्तो स्टन्ट गरिरहन्छु : गृहमन्त्री गुरुङ

शुक्रवार , आषाढ २६, २०८३

काठमाडौं /  गृहमन्त्री सुधन गुरुङ ले गणेश नेपाली आत्मदाह प्रकरणमा आफूले ‘स्टन्टबाजी’ गरेको भन्ने आरोपको प्रतिनिधिसभामै कडा प्रतिवाद गरेका छन्। उनले जनताको ज्यान बचाउन गरिएको प्रयासलाई स्टन्ट भन्ने हो भने आफू त्यस्तो ‘स्टन्ट’ गरिरहने बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही ले गृहमन्त्री पत्रकार बोकेर घटनास्थल पुगेको, ‘कन्टेन्ट क्रिएटर’ जस्तो व्यवहार गरेको र स्टन्टबाजी गरेको आरोप लगाएका थिए। अन्य केही सांसदहरूले पनि सरकारको भूमिकामाथि प्रश्न उठाएपछि गृहमन्त्री गुरुङले सभामुखसँग समय मागेर जवाफ दिएका हुन्।

आलोचकलाई लक्षित गर्दै उनले भने, ‘मलाई स्टन्ट गरेको भन्नेहरूलाई सोध्न चाहन्छु, हिजो अस्पतालमा कति जना माननीयहरू जानुभयो? धेरै साथीहरू घाँटी सुक्ने गरी कराइरहनुभएको देखेँ, तर मुखले मात्रै जनताको सेवा गर्छु भनेर हुँदैन, काम गरेर देखाउनुपर्छ ।’

गृहमन्त्री गुरुङले सरकारले गणेश नेपालीको ज्यान बचाउन अन्तिम क्षणसम्म सबै सम्भावित प्रयास गरेको दाबी गरे । उनका अनुसार बिरामीको अवस्था गम्भीर बनेपछि भारतमा उपचारका लागि लैजाने तयारीस्वरूप श्री एयरलाइन्सको विमान तयारी अवस्थामा राखिएको थियो।

उनले परराष्ट्र मन्त्रालयमार्फत भारतसँग रातारात कूटनीतिक समन्वयसमेत गरिएको जानकारी दिँदै भने, ‘परराष्ट्रमन्त्री, सचिव र सम्बन्धित निकाय रातभर सक्रिय भए , भारतमा उपचारको सम्पूर्ण तयारी गरिएको थियो , तर चिकित्सकहरूले बिरामीको अवस्था अत्यन्तै गम्भीर रहेको र लैजान सम्भव नभएको बताएपछि मात्रै निर्णय परिवर्तन गरिएको हो ।’

गृहमन्त्रीका अनुसार गणेश नेपालीलाई उपचारका लागि लैजाने सम्पूर्ण प्रक्रियामा नेपाल प्रहरी रातभर परिचालित भएको थियो । अस्पतालदेखि विमानस्थलसम्म सुरक्षा व्यवस्थापन गरिएको र आन्तरिक विमानस्थलतर्फ जाने बाटोको अवस्थालाई ध्यानमा राखेर वैकल्पिक मार्ग प्रयोग गर्न निर्देशनसमेत दिइएको उनले बताए।

आफूमाथि लागेको ‘स्टन्टबाजी’को आरोपप्रति असन्तुष्टि जनाउँदै उनले अन्त्यमा भने, “यदि जनताको ज्यान बचाउन दिनरात खटिनु, सबै संयन्त्र परिचालन गर्नु र अन्तिमसम्म प्रयास गर्नु स्टन्ट हो भने, त्यस्तो स्टन्ट सबैले गर्नुपर्छ। म पनि जनताको कामका लागि त्यस्तो स्टन्ट गरिरहन्छु ।’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट