२०८३, आषाढ २६ गते

शुक्रवार, आषाढ २६ गते २०८३

गणेश आत्मदाह प्रकरण

गरिबीले गाउँ छुटायो, परिवार टुक्रियो, अन्ततः उपचारमै निभ्यो गणेशको जीवन

शुक्रवार , आषाढ २६, २०८३

मुगु / काठमाडौंमा आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको सोरु गाउँपालिका–१ जवलधाराका गणेश नेपालीको जीवन एउटा व्यक्तिको मात्रै कथा होइन, राज्यको पहुँचबाट टाढा रहेका कर्णालीका हजारौँ विपन्न परिवारले दैनिक भोगिरहेको यथार्थको प्रतिनिधि कथा हो ।

गरिबीले उनलाई जन्मथलोबाट टाढा धकेल्यो, परिवारलाई तीन जिल्लामा छरिदियो र अन्ततः संघर्षकै बीच उनको जीवन समाप्त भयो ।

गणेश नेपालीको जन्म मुगुको सोरु गाउँपालिका–१ जवलधारामा भएको थियो। तर परिवारसँग जीविकोपार्जन गर्न पुग्ने खेतीयोग्य जमिन थिएन । दुई छाक खानसमेत धौधौ भएपछि उनका आमा–बुबा वर्षौँअघि कर्णाली नदी पार गरेर हुम्लाको अदानचुली गाउँपालिका–२ स्थित मकै गाउँमा बसाइँ सर्न बाध्य भए । त्यहाँ उनीहरूले आफ्नै जमिन होइन, अरूको जग्गा अधियाँमा लिएर खेती गर्दै जीवन धान्न थाले।

सोरु गाउँपालिका–१ का वडा अध्यक्ष धनकर्ण छत्यालका अनुसार परिवारसँग पर्याप्त खेतीयोग्य जमिन नहुँदा उनीहरू गाउँ छोड्न बाध्य भएका थिए । अहिले पनि गणेशका वृद्ध आमा–बुबा हुम्लाको मकै गाउँमै अरूको जग्गा जोतेर जीविकोपार्जन गरिरहेका छन् । आफ्नै नाममा पर्याप्त जमिन छैन, स्थायी आम्दानीको स्रोत छैन ।

गणेश घरका कान्छा छोरा थिए, रोजगारीको खोजीमा उनी काठमाडौं पुगे, उनका दाजु पनि रोजीरोटीका लागि बाहिरिए । श्रीमती र छोराछोरी पनि काठमाडौंमै बस्दै आएका थिए। यसरी गरिबीले एउटै परिवारलाई तीन ठाउँमा विभाजित गरिदियो—पुख्र्यौली घर मुगुमा, वृद्ध आमा–बुबा हुम्लामा र श्रीमती–सन्तान काठमाडौंम । 

यो केवल एउटा परिवारको विखण्डन होइन, कर्णालीका धेरै गाउँमा खेतीयोग्य जमिनको अभाव, रोजगारीको कमी र आधारभूत सेवासुविधाको अभावका कारण हजारौँ परिवार यस्तै नियति भोगिरहेका छन्, कोही भारत पुग्छन्, कोही सुर्खेत वा काठमाडौं, त कोही छिमेकी जिल्लामा अरूको खेत अधियाँ गरेर जीवन धान्न बाध्य छन् ।

यही संघर्षबीच काठमाडौंमा भएको आत्मदाह प्रयासपछि गणेश गम्भीर घाइते भए ,उनको लामो समय उपचार गरिए पनि अन्ततः ज्यान जोगिन सकेन। 

गणेशको मृत्युले हुम्लाको मकै गाउँमा रहेका उनका वृद्ध आमा–बुबाको सहारा खोसिएको छ, बुढेसकालमा अरूको खेत जोतेर जीवन चलाइरहेका उनीहरूले आफ्ना कान्छा छोरालाई सधैँका लागि गुमाएका छन् , काठमाडौंमा रहेका श्रीमती र सन्तानले पनि परिवारको अभिभावक गुमाएका छन्।

गणेश नेपालीको कथा एउटा व्यक्तिको मृत्युको समाचारमा मात्र सीमित छैन। यसले कर्णालीका दुर्गम बस्तीमा आज पनि गरिबीका कारण घर छोड्नुपर्ने, परिवार टुक्रिनुपर्ने र सम्मानजनक जीवनको खोजीमा भौंतारिनुपर्ने बाध्यताको चित्रण गर्छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट