काठमाडौं । गृहमन्त्री सुधन गुरुङ ले आफ्नै दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदप्रति असन्तुष्टि जनाउँदै सार्वजनिक रूपमा एकथरी र पर्दापछि अर्कै व्यवहार नगर्न चेतावनी दिएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा गणेश नेपाली आत्मदाह प्रकरणबारे उठेका प्रश्नको जवाफ दिने क्रममा गुरुङले केही सांसदले सामुन्नेमा आफ्नो कामको प्रशंसा गर्ने तर पछि फरक अभिव्यक्ति दिने गरेको गुनासो गरे ।
उनले भने, ‘अघि आएर ‘तपाईंले राम्रो काम गर्नुभएको छ’ भन्नुहुन्छ, तर पछाडि गएर अर्कै कुरा गर्नुहुन्छ , अगाडि जे भन्नुहुन्छ, पछाडि पनि त्यही कुरा गर्नुपर्छ । ’ यस्तो व्यवहारले मलाई चित्र बुझदैन,चित्त दुख्छ गृहमन्त्री गुरुङले भने ।
आफ्नो काममा कमजोरी भए खुला रूपमा औंल्याउन आग्रह गर्दै उनले आलोचनाबाट भाग्ने व्यक्ति आफू नभएको बताए।
‘नराम्रो भएको छ भने भन्नुपर्छ , म सिक्न आएको हुँ, अझै सिक्दै छु ,पाँच वर्षभित्र अझ परिपक्व भएर निस्कन्छु,’ उनले भने।
गृहमन्त्री गुरुङले पर्दापछाडि गलत गतिविधि वा अनावश्यक चलखेल नगर्न पनि चेतावनी दिए । ‘पर्दा पछाडि गलत काम नगर्नुस्, ’ भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।
आफ्नो शैलीभन्दा कामलाई प्राथमिकता दिने व्यक्ति भएको उल्लेख गर्दै गुरुङले भने, ‘मलाई राम्रोसँग बोल्न नआउला, तर राम्रोसँग काम गर्न आउँछ ।’
गणेश नेपाली आत्मदाह प्रकरणलाई लिएर संसदमा सरकारको भूमिकाबारे तीव्र बहस भइरहेका बेला गृहमन्त्री गुरुङले विपक्षीको मात्र होइन, आफ्नै पार्टीभित्रबाट आएका अप्रत्यक्ष आलोचनाप्रति पनि सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस