दोलखा / दोलखाको भीमेश्वर नगरपालिकामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवाको ज्यान गएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
चरिकोटबाट जिरीतर्फ गइरहेको बा.प्र.०२–०६२ प ८४८६ नम्बरको मोटरसाइकल र जिरीबाट चरिकोटतर्फ आउँदै गरेको बा.८० प ७९७३ नम्बरको मोटरसाइकल पिपलबोट नजिक एकआपसमा ठोक्किएका थिए ।
प्रहरीका अनुसार शनिबार साँझ भीमेश्वर नगरपालिका–५ पिपलबोट क्षेत्रमा विपरीत दिशाबाट आइरहेका दुई मोटरसाइकल आपसमा ठोक्किएका थिए। दुर्घटनामा वैतेश्वर गाउँपालिका–८ क्षेत्रपाका करिब २२ वर्षीय रसिक श्रेष्ठको मृत्यु भएको हो ।
घटनामा भीमेश्वर नगरपालिका–६ चोथाङका १९ वर्षीय विवेक थामी र वैतेश्वर गाउँपालिका–२ पुतलीकाठका करिब २६ वर्षीय उमेश तामाङ गम्भीर घाइते भएका छन्। घाइते थामीलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने तामाङलाई पनि काठमाडौं रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार दुर्घटनाको मुख्य कारण तीव्र गति रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस