विराटनगर । जिल्ला अदालत मोरङले हाजिरी जमानीमा रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले आपराधिक पृष्ठभूमिका ‘गुन्डानाइके’ अभिषेक गिरीलाई थप अनुसन्धानका लागि काठमाडौं लगेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ठगी र आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा पक्राउ अनुमति लिएको भन्दै गिरीलाई काठमाडौं लगिएको हो ।
मोरङ प्रहरीले संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा म्याद थपका लागि सोमबार गिरीलाई जिल्ला अदालत मोरङमा उपस्थित गराएको थियो । तर न्यायाधीश टंकबहादुर महतको इजलासले म्याद थप गर्न अस्वीकार गर्दै उनलाई हाजिरी जमानीमा छाड्ने आदेश दिएको थियो ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार सीआईबीले गिरीविरुद्ध ठगी र आपराधिक विश्वासघात मुद्दामा अनुसन्धान गरिरहेको छ । सोही अनुसन्धानका लागि पक्राउ अनुमति प्राप्त भएपछि विराटनगर विमानस्थलबाट बुद्ध एयरमार्फत उनलाई काठमाडौं पठाइएको उनले जानकारी दिए ।
विराटनगर महानगरपालिका–८ स्थित आफ्नै घरबाट असार १३ गते पक्राउ परेका गिरीमाथि मोरङ प्रहरीले आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको थियो । पक्राउविरुद्ध गिरीको तर्फबाट उच्च अदालत विराटनगरमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिएको थियो ।
उक्त रिट खारेज गर्दै न्यायाधीशद्वय गणेश ठाकुर र नारायणप्रसाद रेग्मीको संयुक्त इजलासले अनुसन्धान पाँच दिनभित्र टुंग्याउन आदेश दिएको थियो । त्यसपछि प्रहरीले संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी थप दुई मुद्दामा म्याद थपको माग गर्दै सोमबार पुनः जिल्ला अदालत मोरङमा उपस्थित गराएको थियो ।
अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार उच्च अदालतले असार १७ गते दिएको आदेशअनुसार नै जिल्ला अदालतले गिरीविरुद्ध थप म्याद स्वीकृत नगरी हाजिरी जमानीमा छाड्ने आदेश दिएको हो ।
प्रतिक्रिया दिनुहोस