२०८३, आषाढ २३ गते

मंगलवार, आषाढ २३ गते २०८३

‘बलात्कारीलाई फाँसी दिनुपर्छ’ भन्दै महिलाले गृहमन्त्रीको खुट्टा ढोगिन्, गुरुङले भने– ‘हुन्छ, हुन्छ’

मंगलवार , आषाढ २३, २०८३

काठमाडौं । देश दौडाहामा रहेका गृहमन्त्री सुधन गुरुङसँगको नागरिक संवाद कार्यक्रममा एक महिलाले बलात्कार र महिलामाथि बढ्दो हिंसा रोक्न कडा कानुनी व्यवस्था गर्न माग गर्दै गृहमन्त्रीको खुट्टा ढोगेकी छन्।

संवादका क्रममा ती महिलाले भावुक हुँदै भनिन्, “सर, एउटा काम चाहिँ गरिदिनुस्। महिलामाथि धेरै हत्या र हिंसा भइरहेको छ। रेपका घटना भइरहेका छन्। यो एकदमै नराम्रो भएको छ। यसको समाधान गरिदिनुहोस्। यस्ता अपराधीलाई फाँसी दिनुपर्छ। म बरु हजुरको खुट्टा ढोग्छु।”

यति भन्दै उनी गृहमन्त्रीको खुट्टा ढोग्न पुगेपछि गुरुङले उनलाई उठाउँदै छोटो जवाफ दिए, “हुन्छ, हुन्छ।”

गृहमन्त्री गुरुङ अहिले देश दौडाहामा छन्। भ्रमणका क्रममा उनले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुका साथै सीमा नाका, भन्सार कार्यालय र सुरक्षा व्यवस्थाको अनुगमन गरिरहेका छन्। सोही क्रममा महिलाले यौन हिंसा र बलात्कारका घटनाप्रति सरकार गम्भीर बन्नुपर्ने तथा दोषीमाथि कडा कारबाही हुनुपर्ने माग राखेकी हुन्।

महिलामाथि हुने हिंसा र यौन दुर्व्यवहारका घटनामा गृहमन्त्री गुरुङले पछिल्ला दिनमा सार्वजनिक रूपमा पनि कडा अभिव्यक्ति दिँदै आएका छन्। साेमबार मात्रै ललितपुरको इमाडोलमा सडकमा हिँडिरहेकी एक युवतीलाई गोप्य अंग प्रदर्शन गर्ने व्यक्तिको घटनापछि उनले दोषी जोसुकै भए पनि कानुनको कठघरामा ल्याएर कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता जनाएका थिए।

उक्त घटनामा बैतडीको पाटन नगरपालिका घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–२ बस्दै आएका ५५ वर्षीय सुरेन्द्र भट्टलाई प्रहरी वृत्त सातदोबाटोले पक्राउ गरिसकेको छ। उनी रक्षा मन्त्रालयका शिक्षा अधिकृत हुन्।

घटनापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गृहमन्त्री गुरुङले, “यस्ता घटनाको म घोर भर्त्सना गर्दछु र दोषी जोसुकै भए पनि कानुनको कठघरामा ल्याई कानुनबमोजिम कारबाही गर्ने विषयमा दृढतापूर्वक उभिनेछु,” बताएका थिए। उनले प्रत्येक महिलाले सुरक्षित महसुस गर्ने वातावरण सुनिश्चित गर्नु राज्य र समाज दुवैको जिम्मेवारी भएको उल्लेख गर्दै सबै यौन हिंसाका पीडितलाई निर्धक्क भएर आवाज उठाउन आग्रह गरेका थिए।

गृहमन्त्रीले आफूलाई दुर्व्यवहार गर्ने व्यक्तिको भिडियो सार्वजनिक गरेर घटनालाई बाहिर ल्याएकी ऋतु खनालको साहसको पनि प्रशंसा गरेका थिए। उनले कुनै पनि महिला वा छोरीचेलीमाथि हुने यौन दुर्व्यवहार सभ्य समाजका लागि अस्वीकार्य रहेको उल्लेख गर्दै पीडितले आफ्नो पीडा पुष्टि गर्न भिडियो सार्वजनिक गर्नुपर्ने अवस्था आउनु नै चिन्ताजनक भएको बताएका थिए।

उनले यस्ता घटना भए तत्काल नजिकको प्रहरी कार्यालयमा उजुरी दिन र उजुरी दर्तामा समस्या भए सम्बन्धित जिल्ला प्रहरी परिसर वा गृह मन्त्रालयलाई नै जानकारी गराउन आग्रह गर्दै उजुरी लिन अस्वीकार गर्ने वा पीडितको गुनासो बेवास्ता गर्ने प्रवृत्ति पनि स्वीकार्य नहुने चेतावनी दिएका थिए।

यता नागरिक संवाद कार्यक्रममा भने एक महिलाले बलात्कारका घटनामा अझ कडा सजायको माग गर्दै भावुक रूपमा गृहमन्त्रीको खुट्टा ढोगेपछि गृहमन्त्रीको ‘हुन्छ, हुन्छ’ भन्ने प्रतिक्रिया सार्वजनिक भएको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।

नेपालको वर्तमान कानुनी व्यवस्थाअनुसार बलात्कारका दोषीलाई मृत्युदण्ड वा फाँसी दिने व्यवस्था भने छैन।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट