रौतहट । रौतहट प्रहरीले एक राउण्ड गोली लोड गरिएको कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिबाट थप गोली, नेपाली तथा भारतीय मुद्रा र नाइट्राभेट ट्याबलेटसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रौतहटको गरुडा नगरपालिका–५ झाझपुलस्थित गौतम सहनीले सञ्चालन गरेको मदिरा पसलमा असार २२ गते गरुडा नगरपालिका–९ बिर्ताका अन्दाजी ४२ वर्षीय सदरे आलमलाई शंकास्पद अवस्थामा फेला पारी शरीर खानतलासी गरिएको थियो । सो क्रममा उनको कमरमा भिरेको अवस्थामा एक राउण्ड गोली लोड गरिएको एक नाल कटुवा पेस्तोल बरामद भएको थियो ।
घटनापछि अनुसन्धानका क्रममा असार २३ गते सदरे आलमसँग सोधपुछ गर्दा उनले मदिरा पसलको पछाडिको खेतमा रहेको झ्याङमा गोली र नगद लुकाएर राखेको स्वीकार गरेका थिए ।
उनकै उपस्थितिमा उक्त स्थानमा खानतलासी गर्दा कटुवा पेस्तोलमा प्रयोग हुने ४ थान लाइभ राउण्ड गोली, १ थान ब्ल्याङ्क राउण्ड, कालो रङको पर्सभित्र भारतीय रुपैयाँ २४ हजार ५००, नेपाली रुपैयाँ ३२ हजार ५०० तथा नाइट्राभेट ट्याबलेट २ वटा बरामद भएको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस