काठमाडौं । राइड सेयरिङ चालक गणेश नेपालीको निधनको घटनाप्रति राइडर्स युनियन नेपाल र स्वतन्त्र चालक फाउन्डेसन नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।
राइडर्स युनियन नेपालले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रहरी प्रशासनको ज्यादती तथा कार्यस्थलमा हुने विभेदका कारण श्रमिकहरू चरम कदम चाल्न बाध्य हुने अवस्था सिर्जना भएको जनाएको छ। युनियनले राइड सेयरिङ श्रमिकहरूले लामो समयदेखि निःशुल्क पार्किङ, पिउने पानी, शौचालय र विश्रामस्थलजस्ता आधारभूत सुविधा माग गर्दै आए पनि सम्बोधन नभएको उल्लेख गरेको छ।
युनियनका अनुसार महानगरपालिका र प्रहरीले ट्राफिक व्यवस्थापनका नाममा जरिवानामुखी नीति अपनाउँदा न्यून आम्दानी भएका श्रमिकहरू आर्थिक र मानसिक दबाबमा परेका छन्। प्रहरीबाट हुने दुर्व्यवहार र विभेदकारी व्यवहारका कारण श्रमिकहरूले असुरक्षित महसुस गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ।
युनियनले गणेश नेपालीको उपचार तथा परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकार र सम्बन्धित कम्पनीसँग माग गर्दै आगामी दिनमा प्लाटफर्म श्रमिकका लागि सुरक्षित, मर्यादित र श्रमिकमैत्री कार्यवातावरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
यस्तै, स्वतन्त्र चालक फाउन्डेसन नेपालले पनि गणेश नेपालीको निधनबारे सत्यतथ्य सार्वजनिक गर्न उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष छानबिन समिति गठन गर्न माग गरेको छ। फाउन्डेसनले सार्वजनिक रूपमा आएका विभिन्न दाबीलाई उद्धृत गर्दै घटनाको सम्पूर्ण पक्ष निष्पक्ष अनुसन्धानमार्फत स्पष्ट हुनुपर्ने जनाएको छ।
फाउन्डेसनले अनुसन्धानबाट कुनै व्यक्ति वा निकायको लापरबाही, गैरजिम्मेवारी वा कानुनविपरीत कार्य भएको पुष्टि भए प्रचलित कानुनअनुसार कडा कारबाही गर्न माग गरेको छ। साथै, चालक समुदाय र सर्वसाधारणलाई संयमता अपनाउन, अपुष्ट सूचना वा अफवाह नफैलाउन तथा कानुनी र शान्तिपूर्ण माध्यमबाट न्यायको माग गर्न पनि आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस