काठमाडौँ । भारत सरकारले पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा सातदिने राष्ट्रिय शोकको घोषणा गरेको छ।
९२ वर्षीय सिंहको उपचारका क्रममा दिल्लीस्थित एम्स अस्पतालमा बिहीबार राति निधन भएको हो।
समाचार एजेन्सी एएनआईका अनुसार उनको निधनमा डिसेम्बर २७ (आज) का सबै सरकारी कार्यक्रम रद्द गरिएका छन्।
उनको अन्तिम संस्कार भने शनिबार राजकीय सम्मानका साथ गरिने छ।
अन्त्येष्टिका दिन शनिबार विदेशस्थित भारतीय दूतावास र उच्चायोगमा पनि राष्ट्रिय झण्डा झुकाइनेछ।
उनको निधनमा भारतका प्रधानमन्त्री, राष्ट्रपति, विपक्षी दलका नेता लगायत धेरै नेताहरूले शोक व्यक्त गरेका छन्।
मनमोहन सिंहको जन्म २६ सेप्टेम्बर १९३२ मा अविभाजित भारतको पञ्जाब प्रान्तको एउटा गाउँमा भएको थियो।
पञ्जाब विश्वविद्यालयमा भर्ना भएपछि उनले क्याम्ब्रिज विश्वविद्यालयबाट स्नातकोत्तर गरे र त्यसपछि अक्सफोर्डबाट पीएचडी गरेका थिए।
सन् २००४ देखि २०१४ सम्म काङ्ग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (युपिए) अन्तर्गत गठबन्धन सरकारको नेतृत्व गर्दै मनमोहन सिंह लगातार दुई कार्यकाल प्रधानमन्त्री बनेका थिए।
प्रतिक्रिया दिनुहोस