२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन–२०२६ हुँदै

आइतवार , जेठ २४, २०८३

विराटनगर । राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजनामा ‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ भन्ने मूल नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन–२०२६ आयोजना हुने भएको छ ।

महासंघका अनुसार आगामी असार ६ र ७ गते ललितपुरस्थित हेरिटेज गार्डेनमा सम्मेलन सञ्चालन हुनेछ ।

महासंघका महाप्रबन्धक डा. बाबु काजी थापाका अनुसार सम्मेलनको मुख्य उद्देश्य सहकारी क्षेत्रमा संलग्न महिला किसानहरूको योगदान र प्रभावलाई उजागर गर्नुका साथै सहकारी संस्थाहरूमा लैङ्गिक उत्तरदायी नीति तथा अभ्यासलाई सुदृढ बनाउनु हो । सम्मेलनमार्फत महिलाको आर्थिक, सामाजिक तथा राजनीतिक सशक्तीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

उनले महिला नेतृत्वलाई थप मजबुत बनाउन आवश्यक सीप, ज्ञान र अवसर प्रदान गर्ने, विभिन्न देशका सफल सहकारी अभ्यासहरूको आदान–प्रदान गरी नवीन सोच र रणनीति विकास गर्ने तथा महिला–पुरुषको समान सहभागिता सुनिश्चित गर्न नीतिगत पहल गर्ने लक्ष्य रहेको बताए । सम्मेलनले विभिन्न देशका महिला सहकारीकर्मीबीच सहकार्य र सम्बन्ध विस्तारमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ ।

संयुक्त राष्ट्रसंघले सन् २०२६ लाई ‘अन्तर्राष्ट्रिय महिला किसान वर्ष’ घोषणा गरेको सन्दर्भमा आयोजना हुन लागेको सम्मेलनले कृषि, खाद्य सुरक्षा र ग्रामीण विकासमा महिलाको भूमिकालाई विशेष प्राथमिकताका साथ उठान गर्नेछ । 

नेपालमा कुल गार्हस्थ उत्पादनको महत्वपूर्ण हिस्सा ओगटेको कृषिक्षेत्रमा ग्रामीण महिलाको उल्लेखनीय सहभागिता रहेको छ  । देशभरका ३२ हजारभन्दा बढी सहकारी संस्थामा महिलाको सहभागिता करिब ५६ प्रतिशत रहेको महासंघले जनाएको छ ।  

सम्मेलनमा नेपालसहित विभिन्न देशका महिला सहकारीकर्मी, नीति निर्माता, अनुसन्धानकर्ता, विकास साझेदार, अन्तर्राष्ट्रिय सहकारी संस्थाका प्रतिनिधि तथा महिला उद्यमीहरूको सहभागिता रहनेछ । 

कार्यक्रममा महिला सशक्तीकरण, नेतृत्व विकास, खाद्य सुरक्षा, वित्तीय समावेशीकरण, डिजिटल रूपान्तरण, उद्यमशीलता विकास, बजार विस्तार तथा सहकारीमार्फत रोजगारी सिर्जनालगायत विषयमा प्रस्तुति तथा प्यानल छलफल सञ्चालन गरिनेछ ।

यसका साथै विभिन्न देशका उत्कृष्ट अभ्यास र सफलताका कथाहरू प्रस्तुत गरिनुका साथै महिला सहकारी उत्पादन प्रदर्शनी, सीप प्रदर्शन, सांस्कृतिक कार्यक्रम तथा सफल सहकारीहरूको अवलोकन भ्रमणसमेत आयोजना गरिने जनाइएको छ ।

सम्मेलनमा सहभागी हुन इच्छुकहरूले गुगल अनलाइन फारममार्फत दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ । प्रति सहभागी पाँच हजार रुपैयाँ शुल्क निर्धारण गरिएको महासंघले जनाएको छ । सीमित सिट भएकाले इच्छुक महिला सहकारीकर्मीलाई समयमै दर्ता गराउन महासंघले आग्रह गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मुख्य सहकार्यमा आयोजना हुने सम्मेलनमा राष्ट्रिय सहकारी बैंक, नेफ्स्कून, साना किसान विकास लघुवित्त, आइएलओ नेपाल र हेफर इन्टरनेशनल लगायतका संस्था सहआयोजकका रूपमा रहनेछन् । 

विभिन्न केन्द्रीय तथा जिल्ला सहकारी संघ, सहकारी संस्था, बैंक तथा वित्तीय संस्थाले पनि आर्थिक तथा प्राविधिक सहयोग गर्ने जनाइएको छ ।

सम्मेलन सम्पन्न भएपछि ‘काठमाडौं घोषणा–२०२६’ जारी गरिनेछ । उक्त घोषणापत्रले महिला नेतृत्व विकास, उद्यमशीलता प्रवद्र्धन तथा सहकारी क्षेत्रको नीतिगत सुधारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा आयोजकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट