काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दैछ ।
सिंहदरबारस्थित बहुउद्देश्यीय हल नजिकै रहेको समितिको सभाकक्षमा मध्याह्न १२ बजे बैठक बस्ने संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन् ।
त्यसपछि प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ । सो बैठकअघि नै कार्यव्यवस्था परामर्श समितिको बैठक आयोजना गरिएको हो ।
आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौं वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
त्यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ संसद्मा प्रस्तुत गर्ने प्रस्ताव राख्नेछन् । सो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पनि कार्यसूचीमा समावेश गरिएको छ ।
यसैबीच, सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गरी सुनाउने कार्यक्रमसमेत रहेको छ ।
प्रतिक्रिया दिनुहोस