२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

आन्तरिक कलहले रास्वपाको मधेश संगठन प्रभावित : महोत्तरी अधिवेशन रोकियो, धनुषा कार्यालयमा तालाबन्दी ,बारामा पनि समस्या

आइतवार , जेठ २४, २०८३

जनकपुरधाम/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेश प्रदेश अन्तर्गत जिल्ला अधिवेशन आन्तरिक विवादका कारण प्रभावित बनेको छ  । महोत्तरी जिल्ला अधिवेशन सहमति अभावमा अनिश्चितकालका लागि स्थगित गरिएको छ भने धनुषामा असन्तुष्ट पक्षले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । बारा जिल्लामा एकलौटी अधिवेशन सम्पन्न भएको भन्दै असन्तुष्टहरु केन्द्रीय कार्यालयमा धर्ना बस्न आएका छन् । 

शनिबार जलेश्वरमा सुरु भएको महोत्तरी जिल्ला अधिवेशन नेतृत्व चयनको विषयमा देखिएको मतभेदका कारण निष्कर्षविहीन बनेको हो । दोस्रो दिनसम्म पनि विभिन्न पक्षबीच सहमति कायम हुन नसकेपछि निर्वाचन समितिले अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको थियो ।

निर्वाचन संयोजक मनिषकुमार साहका अनुसार प्रतिनिधिहरूसँगको परामर्श र सम्भावित सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै अधिवेशन रोकिएको बताए ।  विवाद समाधानका लागि पटक–पटक छलफल भए पनि साझा निष्कर्ष ननिस्किएपछि अधिवेशन स्थगित गर्नुपरेको उनको भनाई थियो ।

यस निर्णयमा पार्टीका केन्द्रीय सदस्य डा. नन्दन यादव, देवनारायण महतो, प्रतिनिधिसभा सदस्य प्रमोद महतो तथा निर्वाचन समितिका पदाधिकारीहरूको समेत सहमति रहेको रास्वपाका नेताहरुले जानकारी दिएका छन् । 

उता धनुषामा पनि पार्टीभित्रको असन्तुष्टि सतहमा आएको छ । जिल्ला अध्यक्ष लक्ष्मेश्वर यादवले एकलौटी रूपमा पार्टी सञ्चालन गरेको आरोप लगाउँदै असन्तुष्ट समूहले शनिबार रातिदेखि जिल्ला कार्यालयमा तालाबन्दी गरेको छ ।

धनुषामा यसअघि पालिका अधिवेशनकै क्रममा पनि विवाद उत्कर्षमा पुगेको थियो। केही स्थानमा कार्यकर्ताबीच झडप र हातहालाहालको अवस्था समेत सिर्जना भएको थियो । पछिल्ला घटनाक्रमले जिल्लामा पार्टीभित्रको आन्तरिक असन्तुष्टि अझै समाधान हुन सकेको छैन ।
यता बारा जिल्लामा त्यस क्षेत्रका सासंदद्धय गणेश धिमाल र वविन सिंह ले एकलौटी रुपमा नेतृत्व छनोट गरेको भन्दै असन्तुष्ट समुहले आइतबार केन्द्रीय कार्यालयमा धर्ना दिएको छ ।

सासंदद्धयले घर भित्र राखेर सभापति छाने,हामीलाई विनाकारण कारवाही गरियो,रास्वपाका स्थानीय कार्यकर्ता विक्रम यादवले भने । केही समय अघि मात्रै एमालेबाट रास्वपामा आएका महेक जैसवाललाई सभापति बनाएको भन्दै बाराका रास्वपाका कार्यकर्ताहरु असन्तुष्ट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट