२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

युरोपको नागरिकता त्यागेर नेपाल फर्किएका अर्जुन श्रेष्ठको संकल्प : ‘औषधिमा आत्मनिर्भर नेपाल’ बनाउन डेढ अर्बको लगानी

शनिवार , जेठ ९, २०८३

काठमाडौं । औषधि उद्यमी तथा ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले नेपालमा औषधि उद्योगको सम्भावना, चुनौती र नीति सुधारका विषयमा खुला रूपमा धारणा राखेका छन्। सुनौलो नेपालको कार्यक्रम ‘समृद्धिको मार्ग के ?’ मा उनले सो कुरा बताएका हुन्।

कार्यक्रममा उनले युरोपको नागरिकता त्यागेर नेपालमै फर्किएर स्वास्थ्य क्षेत्रमार्फत राष्ट्र निर्माणमा योगदान दिने उद्देश्यसहित औषधि उद्योग सञ्चालन गरेको बताए। “स्वास्थ्य र राष्ट्रका निम्ति एक संकल्प” भन्ने नारासहित आफूले बेल्जियमको नागरिकता त्यागेर नेपालमै उद्योग स्थापना गरेको उनले उल्लेख गरे।

श्रेष्ठले हाल आफ्नो कम्पनीमार्फत ५० भन्दा बढी औषधि उत्पादन भइरहेको र यसै आर्थिक वर्षभित्र ७० वटा उत्पादन पुर्‍याउने लक्ष्य रहेको जानकारी दिए। कार्डियाक, मधुमेह, ग्यास्ट्रिक, किड्नी लगायतका रोगका औषधिमा नेपाल आत्मनिर्भर बन्दै गएको उनको भनाइ थियो।

Screenshot 2026-05-23 132815.jpg

उनले नेपालमा हाल औषधिको कुल बजारमध्ये करिब ४५ प्रतिशत हिस्सा स्वदेशी उत्पादनले धानेको र बाँकी आयात हुने बताए। राज्यले स्वदेशी उद्योगलाई प्राथमिकता दिए आयात प्रतिस्थापन गर्न सकिने उनको धारणा थियो।

कार्यक्रममा उनले नेपालमा क्यान्सरको औषधि उत्पादन अझै सुरु हुन नसकेको उल्लेख गर्दै त्यसका लागि ठूलो लगानी, विशेष प्रविधि र सरकारी सहकार्य आवश्यक पर्ने बताए। सरकारले नीतिगत रूपमा सहजीकरण गरे निजी क्षेत्र पनि क्यान्सर औषधि उत्पादनमा जान तयार रहेको उनको भनाइ थियो।

श्रेष्ठले औषधि उद्योगलाई प्राथमिकता प्राप्त उद्योग घोषणा गर्नुपर्ने, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने तथा विदेशबाट आउने औषधिमा उचित भन्सार नीति लागू गर्नुपर्ने माग गरे।

उनले नेपालबाट औषधि निर्यातमा नीतिगत अवरोध रहेको भन्दै विशेषगरी भारतमा औषधि पठाउन व्यवहारिक कठिनाइ हुने बताए। यद्यपि आगामी दिनमा युरोप, अफ्रिका र मध्यपूर्वका बजारमा नेपाली औषधि पुर्‍याउने तयारी भइरहेको जानकारी दिए।

arjun shrestha om kaa adxya.jpg

श्रेष्ठका अनुसार ओम मेगाश्री फार्मास्युटिकल्समा हाल करिब २०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने आगामी तीन वर्षभित्र यो संख्या ४०० भन्दा माथि पुर्‍याउने लक्ष्य रहेको छ। कम्पनीमा हालसम्म करिब डेढ अर्ब रुपैयाँ लगानी भइसकेको उनले बताए।

कार्यक्रममा उनले व्यवसायीहरूलाई सम्मानजनक वातावरण आवश्यक रहेको उल्लेख गर्दै अनावश्यक त्रास र अस्थिर नीतिले उद्यमशीलता प्रभावित हुने बताए। “व्यवसायीलाई रेड कार्पेट होइन, काम गर्ने स्थिर वातावरण चाहिएको हो,” उनले भने।

श्रेष्ठले राज्य, निजी क्षेत्र र नीतिनिर्माताबीच सहकार्य भए नेपाल औषधि उत्पादनमा आत्मनिर्भर मात्र नभई निर्यातमुखी राष्ट्र बन्न सक्ने विश्वास व्यक्त गरे।

पूरा भिडियो :

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट