काठमाडौँ । सृजना खत्री ‘हाउडेमायाँ’को नयाँ म्युजिक भिडियो ‘फुलमाया’ सार्वजनिक भएको छ ।
गीतमा गायिका खत्रीकै स्वर, शब्द तथा सङ्गीत रहेको छ । गीतको सङ्गीत संयोजन योगेशकाजी शाहले गरेका हुन् भने ध्वनि सम्पादन मनोज परियारको रहेको छ । गीतमा आयुस प्रतीकको र्याप समावेश गरिएको छ ।
गायिका खत्रीको आधिकारिक युट्युब च्यानल ‘सृजना खत्री हाउडे माया’बाट सार्वजनिक गरिएको म्युजिक भिडियोमा खत्रीसँगै दिपा शाही, सृजन खरेल र दिलीप शाहको अभिनय तथा नृत्य रहेको छ ।
‘फुलमाया’ म्युजिक भिडियोको निर्देशन नितिन चन्दले गरेका हुन् भने छायाङ्कन रुपेश थापाले गरेका छन् ।
गायिका खत्रीले अहिलेको युवा पुस्तालाई लक्षित गरेर गीत तथा भिडियो निर्माण गरिएको बताउँदै दर्शक-श्रोतासँग माया र साथको अपेक्षा गरेकी छन् ।
यसअघि उनले करिब ६ महिनाअघि ‘एक नम्बर हरामी (भूपू माया)’ सार्वजनिक गरेकी थिइन् । उक्त गीत युट्युबमा ५० लाखभन्दा बढी पटक हेरिएको छ ।
उनका ‘नौटङ्की माया’, ‘डबल माया’, ‘एक्सको छम्मा’, ‘लाहुरे माया’, ‘सिकारी नारी’ र ‘यस्तो हुन्छ माया’ लगायत गीत चर्चित छन् । ‘नौटङ्की माया’ र ‘एक्सको छम्मा’ युट्युबको करोड क्लबमा प्रवेश गरिसकेका छन् भने ‘डबल माया’ पनि करोड क्लब नजिक पुगेको छ ।
एक दशकभन्दा बढी समयदेखि गीत-सङ्गीत क्षेत्रमा सक्रिय हाउडेमायाँले हालसम्म करिब दुई दर्जन गीत तथा म्युजिक भिडियो सार्वजनिक गरिसकेकी छन् । उनका गीत विशेष गरी युवा पुस्तामाझ लोकप्रिय छन् ।
नेपालका विभिन्न सहर तथा गाउँमा प्रस्तुति दिएकी उनले बेलायत, युरोप, जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, दुबई, कतार, मलेसिया, बहराइन र सिंगापुर लगायत विभिन्न देशमा पनि प्रस्तुति दिइसकेकी छन् ।
प्रतिक्रिया दिनुहोस